अधिकारी हत्या आरोपी पौडेललाई छोरा र छोरीले नै सर्वोच्चमा बुझाए

आइसीयूमा उपचारार्थ गंगामाया अधिकारी । तस्बीर-दीपा दाहाल/देश सञ्‍चार

काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपीमध्येका एक छविलाल पौडेललाई आइतबार परिवारले नै सर्वोच्च अदालतमा बुझाएका छन्। माइक्रोबस चढेर आएका पौडेलका छोरा र छोरी सर्वोच्च प्रशासन समक्ष ६८ वर्षे बुबालाई बुझाएर फर्किएका हुन्।

उनको श्रीमतीको केही दिनअघि मात्र मृत्यु भएको थियो। नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपमा लागेका १३ जनामध्ये छविलाल पौडेल मुख्य आरोपी हुन्। पौडेलका परिवारले आइतबार २०७२ पुस ६ गते न्यायधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले दिएको आदेश अनुसार सर्वोच्च प्रशासन समक्ष बुझाएका हुन्। लाल र जोशीको संयुक्त ईजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

सर्वोच्चले  चितवन जिल्ला अदालत र पुनरावेदन अदालतले धरौटीमा छाड्न गरेको आदेश त्रुटिपूर्ण रहेको भन्दै पौडेललाई पुर्नपक्ष थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

आत्मसमर्पणपछि पौडेललाई आइतबार नै डिल्लीबजार कारगार चलान गरिएको सर्वोच्चले जनाएको छ। गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते चितवनमा हत्या भएको थियो। अधिकारीको हत्यामा संलग्न भएको भन्दै बाबु नन्दप्रसादले चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

मुद्दा दायरपछि पक्राउ परेका छविलाल पौडेललाई चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते धरौटीमा छाड्ने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशलाई पुनरावेदन अदालत हेटौंडाले २०७२ असार ३ गते सदर गरेको थियो।

धरौटीमा रिहा गर्ने जिल्ला र पुनरावेदन अदालतको निर्णण त्रुटि पूर्ण भएको भन्दै अधिकारी परिवारले सर्वोच्च अदालतमा ‘दोहोर्‍याइ पाउँ’ भन्ने निवेदन दिएको थियो।

सर्वोच्चले आदेशमा तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दाको आरोपीलाई धरौटीमा रिहा गर्नु कानुनी विपरीत भएको उल्लेख छ । सर्वोच्चको आदेशलाई अवज्ञा गर्दै फरहार रहेका छविलाल पौडेलले आइतबार आफैैं सर्वोच्चमा आत्मसर्मपण गरेका हुन् ।

मुद्दा अहिले पनि चितवन जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । मुद्दाको पेशी आउँदो साउन तेस्रो हप्ताका लागि तोकिएको छ । छोराको हत्या आरोपीलाई कारबाहीको माग गर्दै तीन सय ३० दिन अनशन बसेपछि नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो । गंगामाया भने अझै वीर अस्पातलमा कारबाहीको माग गर्दै अनशन बसिरहेकी छिन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्