बार्सिलोना छोडेर पाउलिन्हो फेरि चीन तर्फ

ब्राजिलका मिडफिल्डर पाउलिन्होले स्पेनिस क्लब बार्सिलोना छोडेका छन् । पाउलिन्हो बार्सिलोना छाडेर फेरि चाइनिज सुपर लिग क्लब ग्वानझाओ एभरग्रान्ड जाने भएका हुन् ।
उनी गएको सिजन एभरग्राण्डबाट बार्सिलोना गएका थिए । अहिले पाउलिन्हो लोनमा बार्सिलोनाबाट एभरग्राण्ड आउने सहमति भएको क्लबले जनाएको छ ।
२९ वर्षका पाउलिन्होले बार्सिलोनालाई गएको सिजन ला लिगाको उपाधि दिलाउने क्रममा ३४ खेलमा ९ गोल गरे ।
यस्तै उनी रुसमा भएको विश्वकप फुटबलमा ब्राजिलले खेलेका सबै पाँच खेलमा खेलेका थिए । ब्राजिल विश्वकपको क्वाटरफाइनलबाट घर फर्किएको छ ।
पाउलिन्होले सन् २०१५ देखि २०१७ सम्म एभरग्राण्डबाट लिगका ६३ खेल खेलेका थिए । पाउलिन्होलाई स्थायी रुपमा अनुबन्ध गर्न पाउने अधिकार पनि एभरग्राण्डसँग रहेको बार्सिलोनाले पुष्टि गरेको छ ।