गगन कुमार थापा

प्रधानमन्त्री ज्यु सदनमा टाउको कति छ गन्न छोड्नुहोस, सत्यका पक्षमा एकजना भएपनि काफी हुन्छ

सांसद गगन थापा । तस्बिरः बर्षा शाह

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सदनमा टाउको कति छ भनेर गन्न छोडी डा. केसीको जीवन बचाउतर्फ लाग्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।

आफ्नै पार्टीका नेता दिलेन्द्र प्रसाद बडुले डा. केसीको जीवन बचाउन प्रतिनिधिसभाको बैठकमा दर्ता गरेको प्रस्तावलाई समर्थन गर्दै नेता थापाले डा. केसीको जीवन रक्षामा प्रधानमन्त्री ओलीले तत्काल कदम चाल्नु पर्ने बताए ।

थापाले समय र पात्र मात्र बदलेर २०५९ सालमा ज्ञानेन्द्रबाट भएको घटना अहिलेको सरकारबाट दोहोरिएको आरोप लगाए।

थापाले भने ‘प्रधानमन्त्री ज्युलाई दुई तिहाईको प्रधानमन्त्रीलाई केही थानले सिकाउने ? भन्ने दम्भ भरिएको छ। त्यतिबेला महाराज झुकिबक्स्यो । अहिले प्रधानमन्त्री झुक्न मान्नु भएको छैन । तर सत्यको पक्षमा एक जना भए पुग्छ । सदनमा कति  टाउको छन् नहेर्नुहोस ।

थापाले डा. केसीलाई समयमै चिन्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे ।

‘डा. केसीलाई चिन्नुहोस। उहाँमा नसा छ चिकित्सा शिक्षा सुधारको । तर्साएर त्यो उत्रदैन । नेपाली कांग्रेस पनि त्यसमा साथै छ’, थापाले भने ।

थापाले चिकित्सा शिक्षा अध्यादेश सबै मिलेर ल्याएको हुँदा एउटा वा दुई वटा व्यक्तिको स्वार्थ नहेर त्यस अनरुपको विधेयक जारी गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्