डा.केसीलाई लिएर जुहारी मात्रै, अघि बढेन वार्ता !

काठमाडौं-जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई लिएर  सदनमा सत्तारुढ र प्रतीपक्षीबीच जुहारी चलेपनि उनको माग र उनको स्वास्थ्यलाई लिएर दुवै पक्षबीच वार्ता अघि बढ्न नसक्दा झनै अन्यौलता बढ्दै गएको छ।

डा. केसीको अनशन १०औ दिनमा टेक्दा सोमबार प्रतिनिधि  मा उनले राखेको मागलाई लिएर प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्‍यो।

तर सत्तारुढ दलका केही सदस्यले कांग्रेसले राजनीतिक लाभका लागि डा. केसीलाई अघि सारेको आरोप लगाए। नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले कांग्रेसलाई आफुलाई बचाउनका लागि डा. केसीको सहारा लिनु पर्ने बाध्यता आएको र त्यसले संसदको महत्वपूर्ण समय खेर गइरहेको आरोप लगाए।

यस्तै डा. केसी, बालकृष्ण ढुंगेल र गंगामायाका नाममा कांग्रेसले ‘इमोशनल व्लाकमेलिङ’ गरिरहेको समेत नेता भट्टराईले लगाए। यता सत्ता पक्ष डा. केसीको माग र उनको स्वास्थ्यमा उदाशिन रहेको भन्दै नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू, मिनेन्द्र रिजाल, गंगन कुमार थापा लगायत नेताले प्रधानमन्त्री ओली ‘सर्वसत्तावाद’ तर्फ उम्मुख हुँदै डा. केसीलाई जीवन मरणको दोसाँदमा पुर्‍याएको आरोप लगाए।

बडुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि ल्याइएको अध्यादेश अनुसार प्रतिस्थापन विधेयक आउनु पर्छ भन्दै राखेको सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै नेता रिजालले प्रधानमन्त्री ओलीलाई जिम्बाब्वेका पूर्व शासक रोबर्ट मुगाबेको बाटो नरोज्न चेतावनी दिए।

नेता रिजालले डा. गोविन्द केसीलाई अनशन बस्ने बेला प्रहरीले गरेको धरपकडलाई लक्षित गर्दै भने ‘ ‘सशःत्र द्वन्द्वको दीक्षामा रहेका गृहमन्त्रीले लोकतन्त्रमा डा. केसीले लिएको सत्याग्रहको बाटोलाई अधिनाकयवाद् देख्नुहुन्छ ?

डा. केसीको स्वास्थ्यलाई लिएर कांग्रेस नेता थापा झनै गज्रिए।  थापाले सत्यका अघि बरु राजा ज्ञानेन्द्र झुकेको तर प्रधानमन्त्री ओलीले संसदमा टाउको कति छन् भन्दै गनेर बसेको आरोप लगाए।

थापाले भने’, डा.केसी सत्यको पक्षमा हुनुहुन्छ । मान्छे कति छन् नहेर्नुहोस प्रधानमन्त्री ज्यु । टाउको कति छन् नगन्नुहोस । उहाँलाई चिन्नुहोस । उहाँसँग कुनै झण्डा छैन।’

थापा चर्किएको केहीबेरमा नेकपाकी सांसद गंगा चौधरीले डा.केसीलाई सरकारी तलब खाएर जनताको हितमा आउन लागेको विधेयकको विरोध गर्ने कुनै अधिकार नभएको बताइन्।

चौधरीले साँच्चै विरोध गर्ने हो भने डा. केसीले राजिनामा दिएर सडकमा आउन चेतवानी समेत दिइन्। सोमबारकै नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा सुत्ने र सडकमा हल्ला गर्ने आफै हराउँछन् भन्‍ने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिबाट प्रधानमन्त्री ओली डा. केसी र प्रतिपक्षीसँग झनै कडारुपमा प्रस्तुत भएको संकेत देखा परेको छ।

उता जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था खस्किएको र कुनै पनि बेला उनको जे पनि हुन सक्ने भन्दै उनका समर्थकले आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्।

मुलुकभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सरकारलाई डा. केसीको जीवन रक्षाका लागि दिएको तीन दिने अल्टिमेटम समेत सकिएको छ। तर डा. केसीसँग वार्ताका लागि कुनै पनि पहल भएको छैन ।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्