सहकारीमा बीमा गराउदा कमलाका परिवारले ऋण तिर्न परेन

नेपालगञ्‍ज-वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरुको बीमा गराएको छ। ऋणीको मृत्यु भएमा ऋण जोखिममा पर्न सक्ने भएकाले वेष्टर्नले सिद्धार्थ इन्सुरेन्स कम्पनीसँग मिलेर ऋणीको दुर्घटना बीमा गराएको हो।

२०६८ साउन ११ गते स्थापना भएको वेष्टर्नले ऋणीसँगै सञ्चालक, कर्मचारीको पनि बीमा गराएको जनाएको छ । अध्यक्ष ईश्वर पोखरेलले ९ सय ९२ जना सदस्य रहेको संस्थामा ४ सय ९२ जना ऋणी रहेको बताए। ‘यीसँगै कर्मचारीको समेत दुर्घटना बीमा गराएका छौं, अध्यक्ष पोखरेलले भने, ऋणीको बीमा गराउदा उसको दुर्घटनामा मृत्यु हुँदा ऋण जोखिममा पर्ने डर हुँदैन।’

पश्चिम नेपालमै वेष्टर्नले पहिलो पटक ऋणीको दुर्घटना बीमा गराएको संस्थाले दावी गरेको छ । संस्थाका अध्यक्ष पोखरेलले समाजमा राम्रो पहिचन बनाउन लागि परेको वेष्टर्नले नयाँ नयाँ योजनाहरु लागु गरिरहेको बताए।

सिद्धार्थ इन्सुरेन्स कम्पनीका नेपालगञ्ज प्रवन्धक नवराज पराजुलीले पूर्वतिर सहकारीले ऋणीको बीमा गराए पनि पश्चिममा बीमा गर्ने वेष्टर्न पहिलो भएको बताए। सिद्धार्थले सय रुपैयामा एक लाखको बीमा गराइदिने गरेको छ । ‘हाम्रो बीमा त मःम भन्दा पनि सस्तो छ, नेपालगञ्जका प्रवन्धक पराजुलीले भने, बीमा गराउदा ऋणी र सहकारी दुवैलाई फाइदा हुन्छ।’

यसैबीच, ऋणी कमला खत्रीको मृत्यु भएपछि सिद्धार्थले वेष्टर्नलाई सोमबारमात्रै ६ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । नेपालगञ्जमा होटल गरेर बसेकी कमलाको गत पुस २ गते सहकारीबाट ६ लाख रुपैया ऋण लिएकी थिइन् । गत फाल्गुन १३ गते उनको मृत्यु भएको थियो । दैलेख घर रहेकी खत्रीको कागजपत्र तयार गर्न यत्तिका समय लागेको थियो ।

सहकारीका प्रवन्धक थानेश्वर पाण्डेले ६ लाखमध्ये खत्रीले एक लाख ४४ हजार किस्ता बुझाएकी थिइन् । सहकारीले खत्रीले किस्ता बुझाएको रकम फिर्ता गर्ने जनाएको छ ।

ऋणीको बीमा गर्दा सहकारी र ऋणी दुवैलाई फाइदा हुने देखिएको छ । ‘सहकारीको पनि ऋण असुरक्षित नहुने भयो, ऋणीलाई पनि भब्यतब्य भइहाले उनका घरपरिवारलाई टेन्सन भएन, प्रवन्धक पाण्डेले भने, बीमा नगरेको भए खत्रीको परिवारबाट सहकारीले ऋण उठाउन सक्ने अवस्था थिएन।’

उनले खत्रीको मृत्यु भइसकेपछि उनको घरमा घरमा गएर कागजपत्र तयार गर्न नै धेरै दुःख भएको बताए। खत्रीका परिवारले पनि पत्याएका थिएनन्। ऋणीको मृत्यु हुँदा एकातिर परिवार पीडामा हुने र अर्कोतिर सहकारीहरुले तारम्तार गएर पैसाका लागि दबाब दिने परिपाटी बीमाले मुक्त गर्ने सम्बद्धहरुले बताए।

असार २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्