अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ट्रम्पद्वारा छानिए काभानोग

राष्ट्रपति डोनाल्ड ट्रम्पका साथमा न्यायाधीश ब्रेट काभानोग । तस्बिर : रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ब्रेट काभानोगलाई नियुक्त गर्न प्रस्ताव गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार सोमबार बेलुका काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित गर्दै उनको प्रशंसा गरे । ट्रम्पले काभानोग उत्कृष्ट न्यायाधीश रहेको बताए ।

काभानोग अहिले कोलम्बिया पुनरावेदन अदालतका न्यायाधीश हुन् । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको सल्लाहकारको रुपमा पनि काम गरेका थिए ।

काभानोगको नियुक्तिले अमेरिकामा अहिले विवादका रहेका गर्भपतन, बन्दुक नियन्त्रण, आप्रबासी सम्बन्धी मुद्दासहितका गम्भीर न्यायीक विषयको निर्णयमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता सर्वोच्च अदालतमा ट्रम्पको यो दोस्रो नियुक्त बन्दैछ । ५३ वर्षका काभानोगको न्यायीक विगत कन्जरभेटिभ रहेको छ ।

ट्रम्पले काभानोगको प्रचलित कानुन प्रतिको प्रतिवद्धता र त्यस अनुसारको न्यायीक इतिहास रहेको भन्दै प्रशंसा गरेका छन् ।


न्यायाधीश काभानोगलाई बधाई दिँदै दुई छोरी र श्रीमती, साथमा राष्ट्रपति ट्रम्प । तस्बिर : एएफपी

ट्रम्पले काभानोगको नियुक्ति प्रस्तावको खुलासा रियालिटी टेलिजिन शो जस्तै गरी गरेका थिए । ट्रम्पले सबैलाई सम्भावित नामको अनुमान लगाउन भनेका थिए, अनि मात्रै काभानोगको नाम उद्घोष गरेका थिए ।

काभानोगले ८१ वर्षका न्यायाधीश एन्थोनी केनेडीको ठाउँ लिनेछन् । केनेडीले गएको महिना आउँदो समरमा अवकास लिने घोषणा गरेका थिए । प्रस्तावित न्यायाधीश काभानोगले आफूमाथि विश्वास गरेकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

अब सिनेटमा सुनुवाई भएपछि काभानोगको नियुक्तिले औपचारिकता पाउने छ ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्