आलोचना र प्रशंसाको केन्द्रमा प्रशिक्षक

पूर्व भिक्षु हुन्, गुफामा फसेका फुटबल प्रशिक्षक

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको खबर अहिले विश्वका सबै सञ्चारमाध्यमा छाएका छन् । दुई हप्तादेखि गुफामा फसेका उनीहरुको उद्धार अभियान अहिले चलिरहेको छ ।

अहिलेसम्म ८ बालकलाई उद्धार गरेका छन्, उद्धारकर्मीले । बाँकी चार बालक र उनीहरुका प्रशिक्षकलाई बाहिर निकाल्न मंगलबार १९ जना उद्धारकर्मी गुफामा पसेका छन् ।

यो सबै घटनामा एकजना केन्द्रमा छन् । ती हुन्, फुटबल प्रशिक्षक एकापोल चान्टावोङ्ग । २५ वर्षका एकापोलको केहीले प्रशंसा गरेका छन् भने केहीले आलोचना ।

गुफामा फसेको ९ दिनसम्म पनि बालकहरुको ख्याल गरेको र उनीहरुको आत्मबल गिर्न नदिएको भन्दै केहीले प्रशिक्षक एकापोलको प्रशंसा गरेका छन् । आलोचना गर्नेहरुले भने बालकलाई गुफामा लगेकोमा दोष देखाएका छन् ।

प्रशिक्षक एकापोल म्यानमारमा जन्मिएका हुन्, तर उनी अहिले सीमा क्षेत्रमा रहेको थाइल्याण्डको शहर माइ साईमा बस्दै आएका छन् ।

बिबिसी थाइका अनुसार एकापोलका बुवा आमाको उनी सानै हुँदा निधन भएको थियो । उनीकी हजुरआमा अहिले पनि म्यानमारमा बस्दै आएकी छन् । एकापोलको एक मात्र आफन्त तिनै हजुरआमा हुन् ।

एकापोल केही वर्ष बौद्ध भिक्षु भए, थाइल्याण्डका धेरै पुरुष बौद्ध भिक्षु बन्ने गरेका छन् । तर उनले फुटबल प्रशिक्षक बन्ने निर्णय लिए र भिक्षु रुप त्यागे । उनले थाइल्याण्डको मो पा (वाइल्ड बोएर) क्लबमा प्रशिक्षक बन्नका लागि निवेदन दिए ।

एकापोल अहिले पनि नियमित गुम्बा जाने गर्छन् । उनी दिउसोमा बालकलाई प्रशिक्षण दिन पुग्छन् । बेलुकाको समयमा उनी हजुरआमाको हेरचाहका लागि म्यानमार जान्छन् ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको एक गुफामा फसेका बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गर्ने अभियान मंगलबार फेरि सुरु भएको छ । गुफामा बाँकी रहेका चार बालक र उनीहरुका २५ वर्षे फुटबल प्रशिक्षकलाई उद्धार गर्ने अभियानका लागि उद्धारमा खटिएका १९ जना डाइभर स्थानीय समय अनुसार बिहान १० बजेपछि गुफामा पसेका छन् ।

आइतबारदेखि सुरु भएको उद्धार अभियानमा अहिलेसम्म ८ बालकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । मंगलबार बाँकी रहेका चार बालक, उनीहरुका प्रशिक्षक तथा उनीहरुको हेरचाहका लागि रहेका डाक्टर र नौसेनलाई बाहिर ल्याउने तयारी छ ।

यो नै अन्तिम उद्धार अभियान हुने अपेक्षा गरिएको छ । पहिलो दिन आइतबार ११ घण्टा लगाएर चार बालकलाई बाहिर निकालेका डाइभरले दोस्रो दिन सोमबार ९ घण्टा लगाएर थप चार बालकलाई उद्धार गरेका थिए । अन्तिम चरणको उद्धार सोमबारको भन्दा पनि छोटो अवधिमा हुने अपेक्षा गरिएको सरकारी अधिकारीले बताएका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । उद्धारकर्मीमा विश्वका उत्कृष्ट ‘केभ डाइभर्स’ छन् ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्