स्वास्थ्‍य

खुट्टा सुन्‍नियो भने कसलाई जँचाउने?

काठमाडौं-साधारणतया खुट्टा सुनिने समयस्यालाई मानिसले समान्य मानिरहेको हुन्छन्। खुट्टा सुन्‍निने कारण सामान्यदेखि जटिलसम्म हुन सक्छ।

त्यसकारण कुनै जटिल समस्या नआओस भन्‍नका लागि खुट्टा सुनिने बितिकै जति सक्दो छिटो समस्याको पहिचान गरी निदानको उपाय खोजीनु पर्ने बताउछन् वीर अस्पतालका मुटु रोग विषेशज्ञ डा. हरीहर खनाल।

खुट्टा सुनिएको कसरी थाहा पाउने?


खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ। औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ। सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गाह्रो हुन सक्छ। जुत्ता लगाउँदा गाह्रो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ।

खुट्टा सुन्‍निने के के कारण हुन सक्छन?


डा. खनालका अनुसार खुट्टा सुन्‍निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन। मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु मानिन्छ।

कतिपय अवस्थामा उमेर ढल्किदै जाँदा पनि खुट्टा सुनिने समस्या देखिन्छ।त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन्। यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ।

त्यस्तै युवा पुस्तामा थाइराइडका कारण खुट्टा सुनिन्छ भने कतिपय अवस्थामा खुट्टामा रगतको संचार राम्रो संग नहुदा पनि सुनिने समस्या देखिन्छ। त्यस्तै नुन धेरै खाने मान्छेमा पनि खुट्टा सुनिने समस्या अधित देखिन्छ।

कहिले काहिँ खुट्टा विभिन्न कारणले सुन्निने गर्छ जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड इत्यादि।यसको लागि खासै चिन्ता भने गर्नु पर्दैन। यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन।

कतिपय अवस्थामा औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ।यदि औषधिका कारणले सुन्‍निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ।

एउटा मात्रै खुट्टा सुन्‍िनएपछि के गर्ने?


सामान्यतया दुइटै खुट्टा सुन्‍निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ। विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनुपर्छ।

खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ। यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ। रक्तनलीमा रगत जमेर रक्त संचार नहुदा पनि एउटा मात्रै खुट्टा सुन्निन सक्ने संभावना रहन्छ।

मुटु वा मृगौलाको कारणले सुन्‍निएको हो भनेर कसरी थाहा पाउने?


मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ। तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ।

मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको देखिन्छ। बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ। खुट्टा सँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ।तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुरा के हो पत्ता लाग्छ। त्यसका लागी छातीको एक्सरे, इसीजी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ।

खुट्टा सुन्‍नियो भने कसलाई जँचाउने


खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन। खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण देखा पर्छन्।

स्वाँस्वाँ हुने
छाती दुख्नु,
पेट पोल्ने
खुट्टा सुन्निन

यस्तो समस्या देखिन्छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ। यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ।

मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ।प्रारम्भिक जाँचमै पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट मृगौला रोग विशेषज्ञ लाई भेट्नु जरुरी हुन्छ।

असार २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्