मड्रिड, बिदा भएँ है !

रोनाल्डोले छोडे रियल मड्रिड, अबको यात्रा युभेन्टससँग

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् ।

रोनाल्डालाई सिरी ए च्याम्पियन युभेन्टसले ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड) मा अनुबन्ध गरेको हो । रोनाल्डो सर्वकालीन महंगा खेलाडीको सूचिमा चौथो नम्बरमा परेका छन् ।

रियल मड्रिड र युभेन्टसबिच सहमति भएपछि रोनाल्डोले इटालियन जाइन्टसँग चार वर्षको सम्झौता गरेका हुन् । रोनाल्डोले रियल मड्रिडमा ९ वर्ष बिताए, यस क्रममा उनले चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन् ।

रोनाल्डोले युभेन्टससँगको सम्झौतापछि भने, ‘मेरो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको थियो, त्यसैले मैले रियल मड्रिडसँग मेरो ट्रान्सफरको प्रस्ताव स्वीकार गर्न भनेको हुँ ।’

महंगा खेलाडीको सूचिमा रोनाल्डो भन्दा अघि बार्सिलोनाले १४२ मिलियन पाउण्ड तिरेर लिभरपुलबाट भित्र्याएका फिलिप कोन्टिन्हो, मोनाकोबाट गएको सिजन १६६ मिलियन पाउण्डमा लोनमा पिएसजी आएका र यो सिजन स्थानीय हुँदै गरेका केलियन एमबाप्पे तथा बार्सिलोनाबाट २०० मिलियन पाउण्डमा पिएसजी गएका नेइमार छन् ।

रोनाल्डो चौथो नम्बरमा परेका छन् । तर युभेन्टसले अहिलेसम्म कुनै पनि खेलाडीलाई तिरेको यो सबैभन्दा धेरै रकम हो । यसअघि सन् २०१६ मा युभेन्टसले गोन्जालो हेगुइनलाई ७५.३ मिलियन पाउण्ड तिरेर नापोलीबाट भित्र्याएको थियो ।

३३ वर्षका पोर्चुगिज रोनाल्डो रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म रियल मड्रिडबाट ४५१ गोल गरेका छन् ।

रोनाल्डोको बढ्दो उमेर तथा गएको सिजन ला लिगामा रियल मड्रिड च्याम्पियन बार्सिलोना भन्दा १७ अंक पछि रहेर लिग टुंग्याएका कारण उसले टिमलाई पुर्नताजकी गर्न चाहेकाले युभेन्टसले रोनाल्डोका लागि प्रस्ताव गरेको थियो ।

रोनाल्डोले गएको मे मा रियल मड्रिडबाट चौथो तथा समग्रमा पाँचौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । किएभमा भएको खेलमा लिभरपुललाई हराएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडे । उनको ठाउँमा स्पेनका पूर्व प्रशिक्षक जुलिएन लोपेतेगुइ नियुक्त भएका छन् ।

रोनाल्डो सन् २००९ मा त्यो बेलाको विश्वक कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका थिए । रोनाल्डोले युनाइटेडबाट पनि च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

९ वर्षको बसाइमा रोनाल्डोले रियल मड्रिडबाट हरेक सिजन ३० भन्दा धेरै गोल गरे । रोनाल्डोको नयाँ क्लब युभेन्टसले प्रि–सिजन अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा अमेरिकामा रियल मड्रिसँग खेल्दैछ । आउँदो अगस्ट ४ मा वासिङ्गटनको फेडएक्स मैदानमा खेल हुनेछ ।

रोनाल्डोले रियल मड्रिडबारे के भने ?


पोर्चुगिज रोनाल्डोले रियल मड्रिडमा बिताएको समय र मड्रिड शहर सबै सम्भवत आफ्नो जीवनको सबैभन्दा खुशीको समय रहेको बताए ।

उनले भने, ‘मेरो मनमा क्लबका लागि आभार तथा कृतज्ञता छ । रियल मड्रिडका फ्यान र यो शहर प्रति पनि म आभारी छु । सबैबाट पाएको माया, सत्भाव र आफ्नोपनका लागि म धन्यबाद दिन चाहन्छु ।’

उनले भने, ‘तर पनि समयले नयाँ अध्याय सुरु गर्ने ढोका खोल्दो रहेछ, मेरो जीवनमा पनि अहिले त्यहि समय आयो र मैले युभेन्टसको प्रस्ताव स्वीकार गर्न क्लबलाई भनेँ । मेरो अवस्था बुझिदिन सबै फ्यान र समर्थकलाई आग्रह गर्छु ।’

रियल मड्रिडमा बिताएको ९ वर्ष पक्कै पनि उत्कृष्ट रहेको रोनाल्डोको भनाई छ ।

उनले भने, ‘हरेक वर्ष नयाँ बनेर आए । यो समय मेरा लागि निकै भावनात्मक बनेको छ । मैले यहाँ बाँचेको उत्कृष्ट फुटबल समय पक्कै भुल्ने छैन । साथी खेलाडीको सम्झना रहिरहने छ, जसले मलाई जहिले साथ दिए । यो क्लबबाट धेरै पाएको छु ।’

यस्तै रियल मड्रिडले पनि रोनाल्डो आफूहरुका लागि उत्कृष्ट संकेत रहने बताएको छ ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्