विश्वकप २०१८ : कीर्तिमान र उत्साह

यसरी तय गर्‍यो फ्रान्सले फाइनल यात्रा

अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार राति सेन्ट पिटर्सबर्गमा भएको खेलमा छिमेकी देश बेल्जियमलाई १–० ले हराउँदै फ्रान्सले तेस्रो पटक फाइनलमा स्थान बनायो । बेल्जियमको फाइनल सपना फ्रान्समा सामुएल उमटिटीले ५१ औँ मिनेटमा गरेको गोलबाट टुट्यो ।

२० वर्षअघि विश्वकपको उपाधि जितेको फ्रान्स १२ वर्षअघि (सन् २००६) को विश्वकपमा पनि फाइनलमा पुगेको थियो । तर पेनाल्टीमा इटालीसँग पराजित भएर विजेता हुन पाएन । यसपटक उसले फेरि फायनल यात्रा तय गरेको छ ।

रुस विश्वकपमा फ्रान्सको यात्राको सुरुवात अस्ट्रेलियासँगको खेलबाट भएको हो । समूह सी मा रहेको फ्रान्सले त्यो खेलमा अस्ट्रेलियालाई २–१ ले हरायो । यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको छ ।

भिएआरबाट पेनाल्टी पाउने पहिलो टिम फ्रान्स बन्यो । अस्ट्रेलियासँगको खेलमा भिएआर मार्फत पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरे ५८ औँ मिनेटमा ।

त्यसपछि ६१ औँ मिनेटमा अस्ट्रेलियाका जेडिनाकले पेनाल्टीमै गोल फर्काए । तर ८१ औँ मिनेटमा बेहिचले आत्मघाती गोल गरेपछि फ्रान्स विजयी भयो र तीन अंक जोड्यो ।

समूह चरणको दोस्रो खेलमा फ्रान्सले पेरुलाई १–० ले हरायो । यो खेलमा फ्रान्सका लागि १९ वर्षे केलियन एमबाप्पेले ३४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले विश्वकपमा गरेको यो नै पहिलो गोल थियो । लगातार दोस्रो जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का ग¥यो । त्यसपछि फ्रान्समा हामी धेरै अघि जान सक्छौँ भन्ने विश्वासले बलियो रुप लियो ।

तेस्रो खेलमा युरोपेली देश डेनमार्क फ्रान्सको प्रतिस्पर्धी थियो । यो खेलमा दुवै तर्फबाट गोल हुन सकेन । फ्रान्स समूह विजेता तथा डेनमार्क समूह उप विजेताको रुपमा अन्तिम १६ मा गए । फ्रान्सलाई अन्तिम १६ मा पर्खिरहेको थियो, लियोनल मेस्सीको टिम अर्जेन्टिनाले ।

नकआउट चरणको त्यो खेल निकै इनटेन्स बन्यो । यहि खेलमा स्टार खेलाडीको रुपमा उदाय केलियन एमबाप्पे । फ्रान्सले मेस्सीको टिम अर्जेन्टिनालाई ४–३ ले हरायो । मेस्सी घर फर्किए, फ्रान्स अघि बढ्यो । यो खेल जारी विश्वकपको उत्कृष्ट खेल मध्ये एक हो ।

यो खेलमा फ्रान्सका एमबाप्पेले दुई गोल गरे, उनैले दिलाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरे । यस्तै पाभार्डले पनि गोल गरे । अर्जेन्टिनाका लागि एन्जल डी मारिया, मास्चेरानो र सर्जियो अग्युरोले गोल गरे ।

फ्रान्सका लागि क्वाटरफाइनलमा पर्खिएको थियो दक्षिण अमेरिकी टिम उरुग्वेले, जसले अन्तिम १६ मा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पाखा लगाएको थियो ।

तर फ्रान्सले उरुग्वेको चुनौती २–० ले पार गर्‍यो । उसलाई जित निलाउने क्रममा भारानो र ग्रिजम्यानले गोल गरे र सेमिफाइनलमा स्थान पक्का गराए ।

सेमिफाइनलमा फ्रान्सको पर्खाइमा थियो क्वाटरफाइनलमा पाँच पटकको विश्व विजेता नेइमारको ब्राजिललाई निराश पारेको बेल्जियम । छिमेकी देश बेल्जियमसँगको खेलमा पनि फ्रान्स सफल भयो ।

उसले मंगलबार राति भएको खेलमा १–० को जित निकाल्दै बेल्जियमलाई घर पठायो, आफू भने आउँदो आइतबार मस्कोमा हुने फाइनलमा पुग्यो । ५१ औँ मिनेटमा सामुएल उमटिटीले गरेको गोल उसका लागि फाइनल यात्राको माध्यम बन्यो ।

प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूहरुको जितको श्रेय सबैलाई जाने बताएका छन् । अब फ्रान्सले फाइनलमा इंग्ल्याण्ड वा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्सको युवा टिमले यहाँसम्म आइपुग्ने क्रममा अर्जेन्टिनाका लियोनल मेस्सीसहितका भव्य खेलाडी, उरुग्वेका एडिसन काभानी तथा लुइस स्वारेजसहितका उस्तै उत्कृष्ट खेलाडीलाई घर फर्काएको छ ।

उसले सेमिफाइनलमा रामेलु लुकाकु, केविन डी ब्राउन, इडन हजार्डसहितका उत्कृष्ट खेलाडीलाई निराश पार्‍यो ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्