कान्तिपुरमा खैलाबैला, सञ्चारमा विदेशी हैकम भित्रिने पत्रकारको आशंका

एकजना भारतीय प्रबन्धकलाई सम्पादक भन्दा माथिको हैसियतका साथ महाप्रबन्धकको पद दिने निर्णयपछि कान्तिपुर मिडिया ग्रुप, केएमजी भित्र देखापरेको त्रासदी साम्मे पार्ने प्रयास स्वरुप अध्यक्ष कैलाश सिरोहियाले बुधबार पत्रकारहरु समक्ष स्पष्टिकरण दिने भएका छन् ।

केएमजी स्रोतका अनुसार मंगलबार कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौँ पोष्टका अखिलेश उपाध्यायले राजीनामा दिइ अध्यक्षको निर्णयको विरोधमा उत्रिएपछि त्यसले पत्रकार र अन्य कर्मचारीमा थप अन्यौल सिर्जना गरेको छ ।

भारतको टाइम्स अफ इन्डिया ग्रुपमा कार्यरत रजनीश ऋषीलाई महाप्रबन्धकमा ल्याउने र सम्पादकीय नेतृत्व उनीप्रति जवाफदेही हुने सहमतिसँगै दुई मिडिया हाउसबिच अन्य केही गोप्य कारोबार बारे पनि ‘डिल’ भएको आरोप केएमजीमा कार्यरत वरिष्ठ पत्रकारहरुले लगाउन थालेका छन् ।

यसैबिच कान्तिपुर सम्पादकको यसअघिको नियुक्तिमा निर्णायक भूमिका खेलेका पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष पनि कान्तिपुर पत्रकारहरुको एउटा समूह पुगेको र सिरोहियाको वर्तमान निर्णयले सञ्चारमा विदेशी भूमिका अपारदर्शी तरिकाले भित्रने खतराप्रति सचेत गराउँदै त्यसमा सरकारले आवश्यक कदम चाल्नु पर्ने माग उनी समक्ष राखेको बुझिएको छ ।

शर्मा र उपाध्यायले राजीनामा दिएपछि कान्तिपुर र काठमाडौँ पोष्टमा उनीहरुका उत्तराधिकारी बारे व्यवस्थापनबाट कुनै संकेत नआएको पनि त्यहाँ कार्यरत पत्रकारहरुको भनाई छ । कान्तिपुरका हाल सम्पादक हरिबहादुर थापा र काठमाडौँ पोष्टका सम्पादकलाई समेत प्रधान सम्पादकको राजीनामापछि कुनै विशेष जिम्मेवारी नतोकिएको पनि पत्रकारहरुले बताए ।

अनौपचारिक रुपमा अध्यक्ष सिरोहियाले पत्रकारहरुसँग मंगलबार रजनीश ऋषीको नियुक्ति सञ्चार गृहको आर्थिक अवस्था सुधारको उद्देश्यले मात्र गरिएको र सम्पादकीय स्वतन्त्रतामा त्यसले प्रतिकुल असर नपार्ने स्पष्टिकरण दिएर आस्वस्त पार्न खोजेका थिए ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्