हाला मड्रिड !

रोनाल्डोले बिदाईका बेला रियल मड्रिडका लागि लेखेको भावनात्मक पत्र

क्रिष्टियानो रोनाल्डो –

रियल मड्रिडमा बिताएका यी वर्षहरु र यो शहर मड्रिड, सम्भवतः मेरो जीवनका सबै भन्दा उल्लासपूर्ण अध्याय हो । मसँग यो क्लबप्रति असीमित कृतज्ञता र आभार छ, माया गर्ने समर्थक अनि शहरप्रति पनि आभारी छु ।

मलाई दिनु भएको माया, स्नेह र सद्भावका लागि मैले दिन सक्ने भनेको धन्यबाद मात्रै हो । मैले धेरै पाएको छु यहाँबाट र यो शहर तथा क्लबलाई माया गर्नेहरुबाट ।

यी ९ वर्ष सबै अर्थले पूर्ण र उत्कृष्ट वर्षहरु रहे । रहेक वर्ष फरक रहे र हरेक वर्ष उत्साह थपिँदै गयो । यो मेरा लागि निकै भावनात्मक समय हो र विभिन्न विचारहरु छन् ।

किनकी रियल मड्रिडले मबाट धेरै निकाल्यो, तर मलाई यो कुरा राम्रोसँग थाहा लागेको छ कि यहाँ मैले फुटबलमा बाँचेको छु र फुटबलमै रमाएको छु, यसलाई कहिले बिर्सने छैन । यहाँ फुटबल पूर्ण फरक तरिकाले बाँच्न र रमाउन पाएँ ।

मैले मैदान र ड्रेसिङ्ग रुम सबै ठाउँमा यस्ता साथी पाएँ जसले जीवित बनाए । समर्थहरुको स्नेहको न्यानो महसुश गरेँ ।

हामीले सँगै तीन वर्ष लगातार र पाँच वर्षमा पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्यौँ । योसँगै मैले यहिँ रहँदा व्यक्तिगत रुपमा चार पटक बालोन डी’ओर तथा तीन पटक गोल्डेन बुट जितेँ । यो सबै यहिँबाट सम्भव भएको हो, रियल मड्रिड जहिले उत्कृष्ट क्लब रहनेछ ।

मेरो मन जितेको क्लब हो रियल मड्रिड र यो मेरो परिवार जस्तै हो ।

त्यसैले हो अरु सबै कुरा छोडेर म धन्यबाद भन्न चाहन्छुः क्लबलाई धन्यबाद, अध्यक्ष, निर्देशकहरु, मेरा साथीहरु, सबै प्रशिक्षकहरु, डाक्टरहरु, फिजियोथेरापिस्ट, उत्कृष्ट कामदारहरु जसले क्लबका सबै कुरा सम्भव बनाए, सबै सबैलाई धन्यबाद ।

मैले धेरै कुरा सम्झिरहेको छु र नयाँ समय सुरु हुने क्षण आएको छ भन्ने पनि थाहा छ । मैले क्लब छोड्दै छु तर यो जर्सी, यो झोला र रंगशाला (सान्टियागो बर्नाबेउ) जहिले महसुस गरिरहने छु र जहाँ गए पनि यो सबै मैसँग हुनेछ र यी सबै मेरा हुन् ।

सबैलाई धन्यबाद, र पक्कै पनि ९ वर्षअघि हाम्रो रंगशालामा भनेजस्तै : हाला मड्रिड !


रोनाल्डालाई सिरी ए च्याम्पियन युभेन्टसले ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड) मा अनुबन्ध गरेको हो । रोनाल्डो सर्वकालीन महंगा खेलाडीको सूचिमा चौथो नम्बरमा परेका छन् ।

रियल मड्रिड र युभेन्टसबिच सहमति भएपछि रोनाल्डोले इटालियन जाइन्टसँग चार वर्षको सम्झौता गरेका हुन् । रोनाल्डोले रियल मड्रिडमा ९ वर्ष बिताए, यस क्रममा उनले चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन् ।

रोनाल्डोले युभेन्टससँगको सम्झौतापछि भने, ‘मेरो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको थियो, त्यसैले मैले रियल मड्रिडसँग मेरो ट्रान्सफरको प्रस्ताव स्वीकार गर्न भनेको हुँ ।’

महंगा खेलाडीको सूचिमा रोनाल्डो भन्दा अघि बार्सिलोनाले १४२ मिलियन पाउण्ड तिरेर लिभरपुलबाट भित्र्याएका फिलिप कोन्टिन्हो, मोनाकोबाट गएको सिजन १६६ मिलियन पाउण्डमा लोनमा पिएसजी आएका र यो सिजन स्थानीय हुँदै गरेका केलियन एमबाप्पे तथा बार्सिलोनाबाट २०० मिलियन पाउण्डमा पिएसजी गएका नेइमार छन् ।

रोनाल्डो चौथो नम्बरमा परेका छन् । तर युभेन्टसले अहिलेसम्म कुनै पनि खेलाडीलाई तिरेको यो सबैभन्दा धेरै रकम हो । यसअघि सन् २०१६ मा युभेन्टसले गोन्जालो हेगुइनलाई ७५.३ मिलियन पाउण्ड तिरेर नापोलीबाट भित्र्याएको थियो ।

३३ वर्षका पोर्चुगिज रोनाल्डो रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म रियल मड्रिडबाट ४५१ गोल गरेका छन् ।
रोनाल्डो सन् २००९ मा त्यो बेलाको विश्वक कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका थिए । रोनाल्डोले युनाइटेडबाट पनि च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

९ वर्षको बसाइमा रोनाल्डोले रियल मड्रिडबाट हरेक सिजन ३० भन्दा धेरै गोल गरे । रोनाल्डोको नयाँ क्लब युभेन्टसले प्रि–सिजन अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा अमेरिकामा रियल मड्रिसँग खेल्दैछ । आउँदो अगस्ट ४ मा वासिङ्गटनको फेडएक्स मैदानमा खेल हुनेछ ।

असार २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्