श्रीश भण्डारीको पुस्तक ‘अठोट’ बजारमा

अचेल अधिकांश बालबालिका आफूले भनेजस्तो भएन कि एकदमै चिढिन्छन्। स–साना कुरामा पनि झोक्किइहाल्छन् । झर्किने, ठुस्किने र चिच्याउने उनीहरूको आम-स्वभाव बन्दै गएको छ। यस्तो किन ?

सबैलाई थाहा छ-जंकफुड स्वास्थ्यका लागि एकदमै हानिकार छन् । तैपनि हामी हाम्रा बालबालिकालाई जंकफुडको लतबाट जोगाउन सकिरहेका छैनौं । किन? लाखौं खर्च गरेर महँगा स्कुलमा पढाएका बालबालिका घर फर्केपछि अभिभावकको कुरै सुन्न तयार हुँदैनन्। किन?  स्कुले उमेरका अधिकांश बालबालिकामा अक्सर पढाइलेखाइमा ध्यान केन्द्रित नहुने समस्या बढ्दो छ। कारण के होला?

बालबालिकाले इन्टरनेटमा बिताउने समय वर्षेनि बढ्दै गइरहेको छ।उनीहरू घरपरिबार र साथीसँगीसँगभन्दा पनि स्मार्टफोन, भिडियो गेम, युट्युब र सोसल मिडियामा ज्यादा अलमलिन थालेका छन्। यसो हुनु ठीक हो?

के हाम्रा बालबालिका मेरा कस्ता साथी छन् र ती साथीसितको संगतले मेरो भविष्यमा कस्तो असर पर्ला भन्नेमा सचेत छन्? यी केही यस्ता आधारभूत प्रश्न हुन्, जसको उत्तर सन्तानको उज्ज्वल भविष्य चाहने प्रत्येक अभिभावकले अहिले नै आफ्ना छोराछोरीलाई बुझाउन सक्नुपर्छ।

स्कुले उमेरका बालबालिकालाई यिनै यथार्थ सम्झाउने प्रयत्नका रूपमा दी इटर्नल पब्लिकेसनले कान्तिपुर दैनिकका सहायक सम्पादक श्रीश भण्डारीको पुस्तक ‘अठोट’ बजारमा ल्याएको छ। कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ। ‘अठोट’ पुस्तक पढेर बालबालिका र किशोरकिशोरीले कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ।

खासगरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीले पढ्नैपर्ने यो पुस्तक शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहने अन्य जोसुकैका लागि उत्तिकै उपयोगी छ। १६० पृष्ठको यो सानो पुस्तकको मुख्य अभिप्राय नै विद्यार्थीले हासिल गर्ने शिक्षाको नतिजा अब ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थहरूमै झल्किनुपर्छ भन्ने हो।

आफ्ना पाठकहरूलाई लेखक भण्डारीको आग्रह छ– ‘तपाईंहरूले यो किताबलाई सरसर्ती मात्र पढ्नुभयो भने भुल्न सक्नुहुनेछ । राम्ररी पढ्नुभयो भने पछिसम्मै याद रहनेछ। ह्दयले महसुस गर्नुभयो भने मात्र आफ्नो जीवनमा उतार्न सक्नुहुनेछ। अब के गर्नुहुन्छ, त्यो तपाईहरूकै जिम्मा।’

‘अठोट’ अहिलेको बाल पुस्तालाई भविष्यमा एक आदर्श पुस्ता बन्न उत्प्रेरणा जगाउने नेपाली भाषामा प्रकाशित गहकिलो पुस्तक हो भन्ने हामीलाई लागेको छ । रोचक कथाहरू र विश्वका महान् व्यक्तिहरूका उद्धरण समेटिएको यो पुस्तक निबन्धात्मक शैलीमा छ।

यसमा हामी कसरी खुशी रहने, कामहरू गर्दा कसरी प्राथमिकता तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंक फुडको बानी कसरी छुटाउने, रिसाउने आदत कसरी हटाउने र आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू रोचक शैलीमा पढ्न पाइन्छ।

पुस्तकमा सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, नयाँ साथी बनाउँदा ख्याल राख्नु पर्ने कुराहरू, डर भगाउने उपाय र पढाइमा रुचि जगाउने तौर तरिका पनि छन्। पुस्तकमा उद्धरण गरिएका संसारका २८ महान् व्यक्तिहरूको संक्षिप्त परिचयसमेत समेटिएको छ।

कान्तिपुर दैनिकमा डेस्क–एडिटरका रूपमा कार्यरत भण्डारी कान्तिपुरकै बाल परिशिष्टांक कोपिलाको समेत संयोजक रहेकाले बाल सरोकारका सवालमा उहा“ले उठाउनुभएका सवाल भावी पुस्ताका लागि ज्ञान र प्रेरणा दुवैका गतिला स्रोत बनेका छन् भन्ने हामीलाई लागेको छ।

‘अठोट’ बजारमा भर्खरै आएको भए पनि यसलाई राजधानीका कतिपय विद्यालयले माध्यमिक तहमा सन्दर्भ पाठ्यपुस्तकका रूपमा राखिसकेका छन्।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्