नेटो गठबन्धन राष्ट्रलाई सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : गेट्टी इमेज

ब्रसेल्स-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन्। उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका हुन्।

ब्रसेल्समा मङ्गलबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ। सोही क्रममा उनले अहिले रकममा भारी मात्रामा वृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेको ब्रसेल्सबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन्। यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गर्नुभएको प्राप्त सो समाचारमा जनाइएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरु देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गर्नुभएको बताइएको छ।

नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए।त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको सो समाचारमा जनाइएको छ।

नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम वृद्धिसम्बन्धि पत्रकारहरूको प्रश्‍नको जवाफमा उनले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित हुनु नै राम्रो हो भने थियो।

असार २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्