
काठमाडौं- काठमाडौंको जडिबुडीमा मंगलबार दिउँसो ट्रिपरको ठक्करबाट स्कुटीमा सवार एक किशोरको ज्यान गयो। दुवै सवारी साधन कोटेश्वरतर्फ आईरहेका थिए।
काठमाडौं उपत्यकाभित्र पछिल्ला ५६ दिनमा ट्रक/ट्रिपर संलग्न एक सय ३२ वटा दुर्घटना भएका छन्। यी दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका थिए। ७९ जना सामान्य घाइते भए।
जेठ महिनाभर ट्रक-ट्रिपरका कारण भएका एक सय १७ दुर्घटनामा सात जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाइते र ५३ जना गम्भिर घाइते भएका थिए।
चालु महिनाको २६ गतेसम्म ट्रक-ट्रिपर संलग्न दुर्घटनाको संख्या एक सय १५ छ। यी दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भिर २६ जना सामान्य घाइते छन्। सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैलाई ट्रक-ट्रिपरको ठक्कर मुख्य कारण हुने गरेको छ।
सडकमा ट्रक-ट्रिपरको आतंकपछि गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र यी सवारी साधन चलाउने व्यवस्था गर्न काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।