कुलदीप, रोहित र कोहलीले गरे कमाल, इंग्ल्याण्डमाथि भारतको शानदार जित

बेलायत भ्रमणमा रहेको भारतले एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ । ट्रेन्ट ब्रिज मैदानमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई ८ विकेटले हराएको छ ।

इंग्ल्याण्डले प्रस्तुत गरेको २६९ रनको लक्ष्य भारतले ४० ओभर एक बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोहित शर्माले ११४ बलमा १५ चौका र चार छक्काको सहयोगमा नटआउट १३७ रन बनाए ।

यस्तै कप्तान विराट कोहलीले ८२ बलमा सात चौकाको सहयोगमा ७५ तथा शिखर धवनले २७ बलमा ८ चौकाको सहयोगमा ४० रनको योगदान दिए ।

कोहलीको कप्तानीमा रहेको भारतको जितमा उनीहरु भन्दा पनि ठूलो नायक बने कुलदीप यादव । उनले इंग्ल्याण्डको पारी निकै धरापमा पारे । पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २६८ रन बनायो ।

उसका लागि बेन स्टोकले ५० तथा ज्यासन रोय र जोनी बाइर्तोवले समान ३८ रनको योगदान दिए । तर इंग्ल्याण्डका लागि भारतका यादव निकै सास्ती साबित भए । यादवले मात्रै २५ रन दिएर ६ विकेट लिए ।

रोहित र कोहलीको उत्कृष्ट ब्याटिंग तथा यादवको शानदार बलिंगले भारतलाई तीन खेलको सिरिजमा १ ० को अग्रता त्यो पनि भव्य जितका साथ दिलाएको छ ।

भारतले यसअघि नै ट्वेन्टी ट्वेन्टी सिरिज २ १ ले जितेको छ । भारत र इंग्ल्याण्डबिचको दोस्रो एक दिवसीय खेल शनिबार हुनेछ ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्