नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजमा तीन दिनदेखि एउटा शव राखिएको छ । यातायात समिति र घरपरिवारका बीचमा कुरा मिल्न नसक्दा सडक दुर्घटनामा मृत्यु भएका १९ वर्षीय विजय बुढाको शव नेपालगञ्ज मेडिकल कलेजमा रहेको हो ।

घटना असार १५ गतेको हो । बर्दियातिर गइरहेको ना ६ ख ७४५९ नम्बरको बसले कोहलपुरतर्फ आइरहेको भे ३ प ८२८४ नम्बरको मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकलमा रहेका बुढा गम्भीर घाइते भएका थिए ।

बाँकेको सम्झनाचोक नजिक दुर्घटना भएको थियो । घाइतेलाई घरपरिवारले जहाज चार्टर गरेर काठमाडौं लैजाने तयारी गर्दा समितिका मान्छेले भारतको सामरा अस्पतालमा लैजान सल्लाह दिए ।

समितिले उपचार गरिदिने मौखिक सहमतिमा घाइतेलाई सामरामा लगियो । उपचारको १२ औं दिन घाइतेको मृत्यु भयो । घरपरिवारले शवलाई नेपालगञ्ज मेडिकल कलेजको शव गृहमा ल्याएर राखे । त्यसमा न समिति न त राज्यले नै कुनै चासो देखायो ।

बिहीबार र शुक्रबार बिहान समिति र घरपरिवारका सदस्यका बीचमा इलाका प्रहरी कार्यालयमा दुई चरण वार्ता भयो । उपचार खर्च समितिले व्यहोरेको छ । त्यो बाहेक घरपरिवारको तर्फबाट भएको खर्च, मोटरसाइकल मर्मत, पोष्टमार्टम र दाहसंस्कारका लागि समितिसँग अतिरिक्त तीन लाख रुपैया मागिएको थियो ।

छोराको मृत्यु भएको मोटरसाइकल पनि यति रकम दिएपछि समितिलाई नै दिने बताएको छ । समितिले भने थप तीन लाख दिन इन्कार गरेको छ । बीमाको पाँच लाख दिने कुरामा समिति सहमत देखिएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन घिमिरेको उपस्थितिमा भएको वार्ता असफल भएपछि पीडितले पक्ष शव उठाएर काजक्रिया गर्ने र खर्च भएको रकम मागका लागि सडक आन्दोलन गर्ने तयारी गरेको छ ।

पीडितको तर्फबाट वार्तामा बसेका कृष्णप्रसाद अधिकारीले धेरै दिन शवलाई अस्पतालमा अलपत्र नपार्ने र खर्च रकमका लागि दबाब दिन सडक बन्द गर्ने तयारी गरेको बताए ।

बर्दिया बाँसगढी नगरपालिका–६, दमौलीका बुढा नेपाल आर्मीमा भर्ति हुने सिलसिलामा कोहलपुरतिर आउदै थिए ।

असार २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्