सिंगापुर जानु पहिले पोखरा जानुहोस्–उत्तर प्रदेश विधायक जैसवाल

उत्तरप्रदेश – भारतको उत्तर प्रदेशका विधायक रवीन्द्र जैसवालले सिंगापुर जानु पहिले नेपालको पोखरा जान आग्रह गरेका छन् ।

‘चलिए पोखरा अभियान’ को सातौँ संस्करण लिएर पर्यटन प्रवर्द्धनकालागि भारतको बनारस पुगेका पोखरेली पर्यटन व्यवसायिसँगको अन्तक्रिया कार्यक्रममा जैसवालले सो कुरा बताएका हुन् । उनले नेपालको ऐतिहासिक, प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक पक्षको चर्चा गर्दै पुग्नै पर्ने गन्तब्य रहेको औँल्याएका हुन् ।

आफू नेपाल चौथोपटक पुगेको अनुभव सुनाउँदै उनले नेपालको पोखरा निकै सुन्दर शहर रहेको र सिंगापुर जानु पूर्व पोखरा पुग्न आग्रह गरेका हुन् । नेपाल पछिल्लो समय राजनीतिक स्थिरता पछि आर्थिक रुपमा अगाडि बढ्दै गएको भन्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले भारतीय नागरिकलाई नेपाल घुम्न उत्सुकता बढाएको बताए ।

बनारस होटल एशोसियशनका अध्यक्ष देवेन्द्र नारायण सिंहले सगरमाथाको देश नेपाल जो कोहिले एकचोटि घुम्नै पर्ने बताए । उनले नेपाल र भारतबिच परापुर्वकालदेखि नै धार्मिक, सांस्कृतिक एवम् सामाजिक सम्बन्ध रहिआएको भन्दै राम र जानकीको सम्बन्धले नेपाल (जनकपुर) र भारतकोे सम्बन्धलाई प्रगाढ बनाएको बताए । उनले सम्पूर्ण व्यवसायीलाई शान्त र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश नेपाल घुम्न आग्रह गरे ।

बुद्ध एयरका कन्ट्री म्यानेजर उद्धव सुवेदीले बनारसबाट नेपाल जाने पर्यटकको संख्या बढ्दै गएको बताए । उनले यहि जुन २९ देखि हप्तामा दुई दिन बनारस देखि काठमाडौँ उडान भर्दै आएको र नेपालको धार्मिक स्थलको भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको बताए । मोदी भ्रमण पछि नेपालमा भारतीय पर्यटक बढ्दै गएको उनको भनाई थियो ।

जेष्ठ नागरिकहरु नेपालमा धार्मिक स्थलको यात्रा गर्न मन पराउने र युवाहरुले साहासिक यात्रा र जंगल सफारीमा रुची देखाउने गरेको बताए । सुवेदीले सन् २०१९ जनवरीदेखि दैनिक तीन उडान नयाँ दिल्लीदेखि नेपालगञ्ज र पोखरा गर्ने जानकारी दिए ।

पोखराका विभिन्न पर्यटकीय स्थलको बारेमा जानकारी गराउँदै भारतीय रुपैयाँ ३ हजारदेखि १३ हजारसम्मको प्याकेजमा प्रति व्यक्तिले पोखरा घुम्न सकिनेबारे जानकारी गराईएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख सूर्य थपलियाले नेपालको पर्यटनकोलागि भारत महत्वपूर्ण बजार भएको भन्दै यस किसिमको अभियानले दुई देशबिचको सम्बन्धलाई आर्थिक रुपमा मजबुत बनाउने बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भारतदेखि नजिकको सुन्दर गन्तव्यमा प्रचार प्रसारको अभावले पर्यटकहरु पुग्न नसकेको भन्दै यस्ता अभियानले त्यस ठाउँमा पुग्न महत्वपूर्ण भुमिका खेल्ने बताए । निर्वतमान अध्यक्ष भरत पराजुली राजनीतिक स्थिरताले नेपाल घुम्नकालागि सुरक्षित गन्तव्य बन्दै गएको बताए ।

कार्यक्रमक सहभागीले बनारसका पत्रकार एवं व्यवसायिले नेपालको बाटोको अवस्था र विभिन्न ठाउँमा हुने अत्याधिक चेकिङका बारेमा जिज्ञासा राखेक थिए ।

पोखरेली र बनारसका पर्यटक व्यवसायीबिच बिजनेस टु विजनेस (वि टु वि) कार्यत्रम समेत भएको थियो । अधिकांश बनारसका व्यवसायीले पोखरा घुम्न रुची रहेको बताएका थिए ।

असार ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्