तरकारीखेतीले जीवनस्तर फेरियो

बेनी : म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।
तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

दस वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् ।

सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडि, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गरेका घिमिरेले यसबाट वार्षिक ६ लाख भन्दा बढी कमाइ हुने गरेको बताए ।

गतवर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ ।
पहिला दुई÷चार सय आवश्यक पर्दा अरुसँग हातथाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा बचत, छोराछोरीको पढाइ र घरघडेरी समेत किनेका छन् ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकलाई राहत पुग्ने विश्वास उनको छ ।

वैदेशिक रोजगारीमा जाने क्रम घट्यो

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दी जिल्लाबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या घट्दै गएको छ । देशमा सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरूमा वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो ।

लामो समयको अस्थिर राजनीति र लगानीको ग्यारेन्टी नहुँदा युवाको विदेश मोह बढेको थियो । तर निर्वाचनपछि स्थिर सरकार र समृद्धिको आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिले बताएका छन् ।

असार ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्