सडकबाट गगन थापाको चेतावनी

‘डा. केसीको जीवन तलमाथि भयो भने जिम्मा सरकारले लिनुपर्छ’

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीलाई तलमाथि भयो भने सरकारले त्यसको जिम्मा लिनु पर्ने चेतावनी दिएका छन् ।

डा. केसीको जीवन रक्षाका लागि र उनको माग पूरा गराउन दबाब दिन शनिबार माइतिघरमा गरिएको प्रदर्शनपछि बानेश्वरमा भएको कोणसभामा सांसद थापाले सरकारले डा. केसीको जीवन नै धरापमै पर्दा पनि हदैसम्मको बेवास्ता गरेको बताए ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. केसीको जीवन तलमाथि हुने गरी ठूलो गल्ति नगर्न चेतावनीसमेत दिए।

उपत्यकामा १० वर्ष मेडिकल कलेज आवश्यक छैन भनेर माथेमा प्रतिवेदनले दिएको सुझावलाई सरकारले लत्याउनु दुखद भएको थापाको भनाइ छ ।


‘डा. केसीको मागबारे प्रधानमन्त्रीलाई पनि थाहा छैन । शिक्षामन्त्रीलाई पनि थाहा छैन । प्रतिवेदनभन्दा फरक कुरा भन्ने तपाइको ज्ञानको स्रोत के हो ?’ थापा चर्किए।

थापाले आफै काठमाडौंका जनताको प्रतिनिधि भए पनि यहाँ मेडिकल कलेजको आवश्यकता नै नभएको बताए।

‘काठमाडौंमा मेडिकल कलेज खोल्नु पर्छ भन्ने ताप्लेजुङ र दार्चुलाका संसादले आफ्नो भेगका जनतामाथि अन्याय गरिरहनु भएको छ’, थापवाले भने, ‘उपत्यकामा अब एउटा मात्रै मेडिकल कलेजलाई खुल्न दिने हो भने थप ३० वटा खुल्ने छन् । र बाहिर भएका पनि बन्द हुन्छन्। सरकारले पनि चलाउन सक्ने छैन।’

संसदमा डा. केसी को हो भनेर सोध्नेलाई उनले जवाफ दिए, ‘डा. गोविन्द केसी जोगी हुन, फकिर हुन, जो आम नेपालीका सन्ततीका लागि लडिरहेका छन्।’

संसदमा डा. केसीलाई अनशन गर्नु छ या हिड्नु छ भने सरकारी जागिर छोडेर आउ भन्ने सांसदको भनाइ थापाले भने, ‘जिन्दगी छोड्छु भनेको मान्छेलाई जावो जागिर छोड्नलाई सिकाउने ।


माथेमा कार्यदलको प्रतिवेदन अनुसार विधेयक नआए डा. केसीलाई कसैले पनि हल्लाउन नसक्ने बताए।

प्रधानमन्त्री ओली उपचारका लागि बैंकक गइरहेका बेला उनलाई लक्षित गर्दै थापाले भने, ‘हामी उपचार गर्न बैंकक जान्छौं । बंगलादेश किन नगएको त ?’

बंगलादेशमा मेडिकल कलेज बग्रेल्ती भएपनि व्यवसायीकरणले गुणस्तरहिन डा. उत्पादन गर्ने थलो भएको भन्दै त्यस्तो अवस्था नेपालको आउन दिन नहुने उनको भनाइ छ।

असार ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्