पार्टी एकतालाई बलियो बनाउन दलको नेतामा प्रतिस्पर्धा गरिनँ: महतो

राजेन्द्र महतो : फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टी एकतालाई मजबुत बनाउन आफूले संसदीय दलको नेतामा संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको बताएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकले महतोकै प्रस्तावमा ठाकुरलाई सर्वसम्मत दलको नेता चयन गरेको छ। बैठकपछि देशसञ्चारसँग कुरा गर्दै महतोले पार्टीं एकतालाई मजबुत बनाउनका लागि आफूले दलको नेता चयनमा लागि चुनाव गराउन नचाहेको प्रतिक्रिया दिएका हुन्।

ठाकुर र महतोमध्ये को दलको नेता बन्ने भन्ने होडका कारण संसदको तेस्रो ठूलो दल राजपा चुनाव भएको सात महिनासम्म दलको नेता चयनमा अनिर्णयको बन्दी बनेको थियो। महतोले दलको नेताका लागि आफू र संयोजक ठाकुरबीच प्रतिस्पर्धा छ भनेर सार्वजनिक भएका समाचार सत्यतासमेत नरहेको दाबी गरे।

‘मैंले पार्टी एकतालाई बलियो बनाउन दलको नेतामा ठाकुरजीलाई समर्थन गरें। अहिले चुनावमा जाँदा पार्टीभित्र विभाजनको रेखा कोरिन सक्थ्यो,’ महतोले भने।

२०७४ वैशाखमा मधेस केन्द्रित ६ वटा पार्टी मिलेर राजपा घोषणा भएको थियो। पार्टीलाई बलियो बनाउन आफू ज्यान दिन तयार रहेको उल्लेख गरे।

पार्टी एकतापछि आलोपालो प्रणालीअनुसार पार्टीको नेतृत्व गर्ने अवसर आफूलाई आउँदासमेत ठाकुरलाई नै जिम्मेवारी दिएको महतोले बताए। उनले राजपाले अब संसदमा प्रभावकारी भूमिकासमेत निर्वाह गर्ने बताए।

‘सरकारलाई गुण र दोषका आधारमा व्यवहार गर्छौै। अहिलेसम्म सरकारले गतिले काम गरेको छैन,’ महतोले अगाडि भने, ‘संविधान संशोधन र रेशम चौधरीको रिहाइका लागि पनि केही गरेको छैन। यसबारे प्रधानमन्त्री ज्यूलाई सचेत गराउँछौं।’ राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन्।

असार ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्