इजरायल–प्यालेस्टाइन सम्बन्ध : गाजामा युद्ध

४ वर्षपछि हमास विरुद्ध इजरायलको ठूलो आक्रमण

इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर ठूलो आक्रमण अभियान सुरु गरेको जनाएको छ । यो आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् ।

हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको इजरायलको भनाई छ ।

गाजामा रहेका हमासका दर्जनौँ सैन्य अखडामा निशाना बनाएर आक्रमण गरिएको इजरायली पक्षले बताएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार गाजामा भएको हवाई आक्रमणमा दुईजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

हमास बटालियनको मुख्यालय तथा उनीहरले तालिमका लागि प्रयोग गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण भइरहेको इजरायली सेनाले बताएको छ ।

इजरायली सेना र हमास लडाकुबिच सन् २०१४ मा ठूलो युद्ध भएको थियो । हमासले गरेको रेकट आक्रमणमा तीनजना इजरायली घाइते भएका छन् ।

हमास विरुद्धको कारवाही अभियानमा रहेको द इजरायल डिफेन्स फोर्स, आइडिएफले गाजामा रहेको हमासको हतियार भण्डारण केन्द्र तथा रकेट लञ्चरलाई पनि निशाना बनाएको छ ।

रक्षा मन्त्रालय, प्रमुख अधिकारीहरु तथा उच्च सुरक्षा अधिकारीसँगको छलपछि हमास विरुद्ध कडा कदम चाल्ने निर्णय भएको प्रधानमन्त्री नेतन्याहुले बताएको बिबिसीले उल्लेख गरेको छ ।

तर प्यालेस्टाइनी अधिकारीले भने गाजामा युद्धविराम गर्ने विषयमा सहमति भएको बताएका छन् । इजिप्ट तथा अन्तर्राष्ट्रिय समुदायको पहलका कारण युद्धविराम सम्भव भएको प्यालेस्टाइनी अधिकारीले बताएका छन् । इजरायलले भने यसबारे केही बताएको छैन ।

प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्सलाई बताए अनुसार इजरायली सेनाले गाजामा रहेको एक खाली भवनमा आक्रमण गरेको र बटुवाको ज्यान जानुका साथै तथा केही घाइते भएका छन् ।

यस्तै सीमा क्षेत्रमा शुक्रबार भएको प्रदर्शनको क्रममा इजरायली सेनाले गोली हानेर एक प्यालेस्टाइनीको हत्या गरेको हमासले जनाएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमास विरुद्धको आक्रमण अभियान जारी रहन सक्ने बताएका छन् । आवश्यक परेमा हमास विरुद्धको आक्रमणको स्तर बढ्न सक्ने उनको भनाई छ । गाजाको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि विवाद रहँदै आएको छ ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्