विश्वकप २०१८ : बन्न सक्छ इतिहास

क्रोएसियाले विश्वकप जित्न सक्ने तीन कारण

फुटबलको नयाँ विश्व विजेता पाउन अब धेरै समय छैन । आइतबरा राति विश्वले फुटबलको नयाँ विश्व विजेता पाउनेछ ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत उपाधिका लागि आइतबार राति पौने ९ बजे २० वर्षअघिको च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल खेल्न लागेको क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप सुरु हुँदा वा त्यो भन्दाअघि देखि नै सायदै क्रोएसियालाई सम्भावित विजेताको रुपमा लिइएको थियो । तर उसले हरेक खेलमा आफूलाई प्रमाणित गर्दै फाइनलसम्म आएको छ र अब उपाधिबाट एक खुड्किलो मात्रै पर छ ।

क्रोएसियाले नयाँ विश्व विजेता बन्दै इतिहासमा नाम लेखाउने सम्भावना छ ।

यसका प्रमुख तीन कारण यस्ता छन्ः

१) एक चामत्कारिक सामूहिकता र उच्च प्रेरणा


क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केही उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो कहिले थिएन, यो खेलाडीले बारम्बार भन्ने गरेको कुरा हो ।

यो विश्वकपमा उनीहरुले टिममा साँच्चै परिवारको वातावरण पाएका छन् र महसुश गरेका छन् । उनीहरु ५२ दिनदेखि साथमा छन् । खेलाडी एकअर्काका लागि मर्न पनि तयार रहेको देखिन्छन्, मैदानमा उनीहरुले देखाएको प्रयास हेर्दा ।

लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा उपल्लोस्तरको जित निकाल्न लालायित देखिन्छन् ।

२) मनोवैज्ञानिक सबलता र आचरण


डेनमार्क, रुस अनि इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम हो, क्रोएसिया । डेनमार्क र रुससँगको खेलमा उसले पेनाल्टी सुटआउटमा जित्यो ।

इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ्ग’ को रुपमा उदायो । यसमा खेलाडीको देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ ।

कप्तान लुका मोड्रिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौँ ।’ क्रोएसियाको यहि असल आचरण फ्रान्ससँगको फाइनलमा उनीहरुको बलियो हतियार बन्ने देखिन्छ । विश्वकपको इतिहासमा हरेक विश्व विजेता टिमको आचरण उच्च रहेको छ ।

३) अनुभव र आत्मविश्वास


मोड्रिक क्रोएसियाको यो स्वप्न पुस्ताका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी स्टार खेलाडी बाहरे डालिकको टिममा अरु पनि स्टार खेलाडी छन्, जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु इभान रेकिटिक, मारियो मान्जुकी, इभान पेरिसिक, मातेओ कोभाकिक र डिजेन लोभ्रेन पर्छन् ।


टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना हुन आउँछ, यो टिमसँग धेरै अनुभव छ र त्यो भन्दा ठूलो कुरा आत्मविश्वास छ । टिमका सबैले प्लेइङ्ग लाभेनमा स्थान बनाएका छन् । टिमका सबै खेलाडी आफ्नो क्षमताबारे जानकार छन् ।

स्रोत : फिफा डट कमका लागि क्रोएसियाका टिम पत्रकारको विश्लेषण

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्