पहाडकी रानी बन्दीपुरमा केबुलकार निर्माण गरिने

दमौली-तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो ।

ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए ।

केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उनले बताए । एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । केबुल कार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव रू ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि रू सात करोड ५० लाखको लागतमा होटल बनाइरहेको जानकारी दिए । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ ।

पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ ।

गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गएको हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्