क्रोएसियाका प्रशिक्षकको आत्मबल

इतिहास रच्न तयार छौँ, बहाना होइन विश्वास छ

‘हामी अहिले पनि हाम्रो सपना बाँचिरहेका छौँ, त्यसलाई विपनामा परिणत गर्ने निकै नजिक पनि पुगेका छौँ’, क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकको भनाई । क्रोएसियाले आइतबार राति रुसको मस्कोमा विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलोपटक फाइनलमा स्थान बनाएर इतिहास रचेको क्रोएसिया विश्वकप जित्दै त्यसलाई थप उचाईमा लैजाने तयारीमा छ ।

डालिक खेलाडीका रुपमा डिफेन्सिभ मिडफिल्डरको भूमिमा रहेका थिए । तर उनले आफ्नो खेल जीवनमा क्रोएसियाको प्रतिनिधित्व गर्न पाएनन् । तर अहिले प्रशिक्षकका रुपमा उनले टिमलाई मात्रै नभएर पूरै देशलाई नयाँ सम्भावनाको संघारमा लगेका छन् ।

गएको अक्टोबरमा क्रोएसिया विश्वकपका लागि छनौट हुँदैन कि भन्ने खतरा देखिएको थियो । त्यो खतरालाई चिरेको डालिकको टिमले अहिले रुसमा सफलताको सपना बाँचेको छ ।

उनले भने, ‘मेरो जीवन र करिअर दुवैमा अप्ठ्यारो पार गर्नु परेको छ, क्रोएसियामा म औसत प्रशिक्षकमा सीमित हुन चाहन्नँ, मैले तल्लो क्लबबाट सुरु गरेको हो ।’

Together! We can do it!

A post shared by Zlatko Dalic (@daliczlatko) on

उनले अघि भने, ‘एसियामा एक वर्षभित्रै मैले आफूलाई राम्रो प्रशिक्षकका रुपमा स्थापित गर्न सकेँ । तीन वर्ष संयुक्त अरब इमिरेट्सको क्लब अल एइनको प्रशिक्षक भएँ । यो क्लब युरोपको रियल मड्रिड जस्तै हो, त्यो क्षेत्रको । यो मेरा लागि भव्य अनुभव हो ।’

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले एसियाका दुई ठूला क्लबमा काम गरेको छु, त्यसपछि क्रोएसियाले बोलायो, मैले अरु केही सोचिनँ–आएँ ।’

विश्वकपको फाइनलमा पुग्ने विश्वको सानो देश बनेर इतिहास बनाए पनि आफूहरुको सपना त्यो भन्दा ठूलो रहेको उनले बताए । उनले भने, ‘हामीले फाइन्लमा आएर एउटा इतिहास त बनाएका छौँ तर यसमै रोकिन चाहँदैनौँ । क्रोएसियामा ठूला क्लब छैनन् होला तर उत्कृष्ट खेलाडी छन्, जसले सपनालाई सार्थक बनाउन साथ दिएका छन् ।’

उनले अहिलेको क्रोएसियालाई सन् २००४ को युरोकप च्याम्पियन ग्रिससँग तुलना गरे । ‘त्यो बेला कसैले सोचेका थिएनन् कि ग्रिसले युरोकप जित्छ, तर जित्यो । हामीमाथि पनि धेरैको विश्वास थिएन होला, तर हामीलाई भने विश्वास छ ।’

फाइनलका लागि आफूहरुसँग कुनै बहाना नभई विश्वास रहेको र त्यसका लागि तयार पनि रहेको उनले बताएका छन् ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्