धनगढी बसपार्क स्तरोन्नतिको काममा ढिलाई

धनगढी- धनगढी बसपार्क स्तरोन्नतिको कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन । असार २५ गतेसम्म स्तरोन्नतिको कार्य सम्पन्न गरिसक्ने सम्झौता रहे पनि अझै पूरा नभएको हो ।

निर्माण अवधि सकिँदा पनि बसपार्क निर्माणको कार्य अझै २५ प्रतिशत बाँकी रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले बताए ।

बसपार्क स्तरोन्नतिका लागि राजेन्द्र–रुद्रावती जेभीसंँग १ करोड ३४ लाख ९२ हजार रुपैयामा सम्झौता भएको थियो । यसअघि बसपार्कमा सुदूरपश्चिम यातायात व्यवसायी संघका बस रहेका कारण निर्माण कार्यमा ढिलाई भएको थियो ।

पटक पटक बसहरु हटाएर स्थान खाली गरिदिन आग्रह गरेपनि सघले ढिलो गरि बसपार्क खाली गर्दा निर्माण कार्यमा ढिलाई भएको निमार्ण कम्पनीको दाबी छ ।

कम्पनीले ६ महिनाको म्याद थपका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा निवेदन दिएको छ तर कार्यालयका प्रमुख बोहराले भने तीन महिना मात्रै म्याद थप गरिने बताए ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत स्तरोन्नति भईरहेको बसपार्कको कालोपत्रे गर्न बाँकी छ । निर्माण कम्पनीले केही दिन अगाडि कालोपत्रेको काम सुरु गरेपनि वर्षातको समय सुरु भएकोले कालोपत्रे गुणस्तरीय नहुने भन्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रोक्नका लागि निर्देशन दिएको थियो ।

निर्माण व्यवसायी किशोर ठकुराठीले वर्षा सकिएलगत्तै कालोपत्रेको काम सुरु गर्ने बताए ।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्