भाग्यमानी डेसच्याम्प- खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व च्याम्पियन

मस्को- विश्वकप फुटबलको उपाधि जितेपछि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एेतिहासिक सफलता हात पारेका छन्। उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भए।

फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्प टोलीको महत्वपुर्ण सदस्य थिए। ४९ वर्षीय डेसच्याम्पले सन् १९८९ देखि २००० सम्म राष्ट्रिय टोलीका लागि खेलेका थिए।

त्यसबीचमा यी डिफेन्सिभ मिडफिल्डरले एक सय तीन खेल खेल्दै चार गोल गरेका थिए। डेसच्याम्प सन् २०१२ यता फ्रान्सको प्रशिक्षक छन्। त्यसअघि डेसच्याम्प युभेन्ट्स,मोनाको र मार्सेलीको पनि प्रशिक्षक थिए।

डेसच्याम्प प्रशिक्षक र खेलाडी दुवै रुपमा विश्वकप जित्ने इतिहासका केवल तेस्रा व्यक्ती हुन्। यसअघि ब्राजिलका मारियो जागाल्लो र तत्कालिन पश्चिम जर्मनीका फ्राँ बेकेनबरले खेलाडी र प्रशिक्षक दुवैरुपमा विश्वकप फुटबल उपाधि जितेका थिए। ब्राजिलले सन् १९५८ र १९६२ मा विश्वकप जित्दा जागाल्लो खेलाडी थिए भने सन् १९७० मा जित्दा प्रशिक्षक। बेकेनबर पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जित्दा खेलाडी थिए भने सन् १९९० मा जित्दा प्रशिक्षक।

असार ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्