पश्चिममा मध्यम स्तरको पानी पर्ने सम्भावना, महाकाली नदीमा बाढीको खतरा

काठमाडौँ – देशभरको मौसम सोमबार पनि दिनभर सामान्यतया बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका प्राय सबै क्षेत्रमा मौसम बदली हुने र पश्चिमका केही तथा पूर्व र मध्यका थोरै ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

मनसुनी गतिविधि सामान्य अवस्थामा रहेकाले मौसम केही समय खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना छ । विशेष गरी पश्चिमतिर बेलुकापख ठूलो पानी पर्ने मौसमविद पौडेलले बताए ।

काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली तथा केही समय मौसम खुल्ने क्रम चल्ने र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

यस्तै पश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना रहेकाले विशेषगरी महाकाली, कर्णाली, पश्चिम राप्ति, बबईसहितका जलाधार क्षेत्रमा बहाब बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति महाकाली नदीमा पानीको बहाब सतर्कताको तहसम्म पुग्ने देखिएकाले नदी छेउछाउका बासिन्दाले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्