हार्‍यौँ तर गर्व गर्ने ठाउँ छ : मोड्रिक

क्रोएसियाका खेलाडी तथा प्रशिक्षक राष्ट्रिय नायकका रुपमा रुसबाट घर फकिँदै छन् ।

फाइनलमा पराजित हुनुको पीडा त छ तर फाइनलसम्मको ऐतिहासिक यात्रा क्रोएसियाका लागि ऐतिहासिक उपलब्धी हो र त्यो उपलब्धीका माध्यमहरु खेलाडी तथा प्रशिक्षक राष्ट्रिय हिरो ।

लुका मोड्रिक पनि घर जाँदैछन्, उनको साथमा हुनेछ गोल्डेन बल । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनले सर्वोत्कृष्ट खेलाडी हुँदै यो अवार्ड पाएका हुन् ।

गोल्डेन बल उचालेपछि उनले भने, ‘यसका लागि म निकै खुशी छु र गौरव पनि लागेको छ । म टिमका साथी खेलाडीलाई धन्यबाद दिन चाहन्छु, उनीहरुको साथ बिना पक्कै पनि मैले यो अवार्ड पाउने थिइनँ ।’

मोड्रिकले अघि भने, ‘हामी विश्वकप उपाधि जित्ने निकै नजिक पुगेका थियौँ । र पक्कै पनि यसबारे लामो समय सोचिने पनि छ । तर हामीले गर्व गर्ने ठाउँ छ र गर्नु पर्छ ।’

समर्थकको साथको कुरा गर्दै उनले भने, ‘खेलपछि समर्थकबाट जस्तो साथ पाइयो त्यसले पक्कै पनि खुशी बनाउँछ । हामीले यहाँ केही ठूलो काम गरेका छौँ, त्यो थाहा छ । तर निकै आएर पनि उपाधि उचाल्न नसक्नु, त्यसको असर सजिलो भने हुँदैन ।’

आफ्नो र टिमको प्रदर्शनबाट खुशी रहे पनि फाइनलमा ४–२ को हारको पीडा छ हुन्छ नै तर पनि रुसमा टिमको कामले उनी खुशी छन् ।

उनले भने, ‘हामी नायक जसरी लड्यौँ, जित्नका लागि सबथोक गरियो तर लकले साथ दिएन सायद । प्राय खेलभरि हामी प्रभावकारी थियौँ तर केही दुर्भाग्यपूर्ण गोलले निराश हुन बाध्य भयौँ ।’

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्