वैदेशिक राेजगार

कतारमा काम नेपालमा तलब!

काठमाडाैँ- सर्लाहीको मलंगवाका हसनैन मन्सुर १२ सय तलव पाउने सम्झौता बोकेर कतार गएका थिए। काठमाडौँको गल्फ लिङ्क ओभरसिज प्रालिले यहाँ १२ सय कतारी रियाल तलब भने पनि मन्सुरले कतारमा ९ सय रियाल मात्रै तलव पाए।

कतारको फलाम कम्पनीमा १९ महिना काम गर्दा पनि नेपालमा भने जति तलव नपाएपछि मन्सुरले त्यहाँको ‘लेवर कोट’मा उजुरी गरे। कोटले पनि ५ महिना सम्म फैसला गरेन । कम्पनीले भने कामबाट निकालिसकेको थियो। दुई वर्षे करार अवधि पूरा नहुँदै कामबाट निकालिएका मन्सुरलाई करार अवधि सकिएपछि कम्पनीले जबरजस्ती नेपाल पठायो।

१९ महिनामा ३ सय रियालका दरले ५ हजार ७ सय रियाल कम पाएका थिए। अनि १९ महिना पछिका ५ महिना तलब नै पाएनन्। त्यो ५ महिनाको ६ हजार रियाल गरी ११ हजार ७ रियाल अथवा ३ लाख २७ हजार ६ सय रुपैयाँ पाउन बाँकी थियो।

मन्सुर त्यो तलब नपाई नेपाल फर्किएका थिए । कतारमा उजुरी गरे पनि कम्पनीले उजुरीको सुनुवाई नसकिँदै नेपाल पठाइदियो।

नेपाल फर्किंदा उनको श्रम सम्झौताको अवधि सकिएको थियो। तर श्रम अवधि हुँदै कतारमा उजुरी हालेको नजिर बनाएर उनले वैदेशिक रोजगार विभागमा उजुरी गरे । विभागले २०७२ फागुन १२ गते ३ लाख ४० हजार ८ सय २१ रुपैयाँ मन्सुरलाई दिनु पर्ने र एक लाख रुपैयाँ म्यानपावर कम्पनीलाई जरीवाना गर्ने निर्णय गर्‍यो।

तर यो निर्णय भएपछि म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागविरुद्ध उजुरी ग¥यो । आफूले १० हजार रुपैयाँ लिएर पठाएको र काम नजाने ९ सय रियाल मात्रै तलब दिने भनेको म्यानपावरको दाबी थियो। म्यानपावर कम्पनीले मन्सुर यहि सर्त मानेर जान तयार भएको दाबी गरे पनि त्यसको प्रमाण भने जुटाउन सकेन।

त्यतिबेला श्रम मन्त्री दिपक बोहरा थिए। म्यानपावर कम्पनीले पुनरावेदन गरेपनि उनले कुनै सुनुवाई गरेनन्। मन्त्री बोहराको मौनताले न म्यानपावरको मुद्दा किनारा लाग्यो नत पीडितले नै न्याय पाए।

त्यसपछि श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले सूर्यमान गुरुङले। उनले पनि यो मुद्दामा कुनै निर्णय गरेनन्। मुद्दा हेर्दै नहेरी सूर्यमानको पनि मन्त्रालय छाड्ने दिन आयो।

मन्त्रालयले नेतृत्व फेरिरहे पनि पीडित मन्सुरले भने न्याय पाएनन् । म्यानपावर कम्पनीले पुनारावेदन गरेको थियो। विभागको निर्णयमा चित्त नबुझाउँदै मन्त्रालयमा। मुद्दा चलेपछिका तेश्रो श्रममन्त्री बने फरमुल्लाह मन्सुर । मन्सुरले भने यो मुद्दामा चासो दिए।

म्यानपावर कम्पनीले सम्झौता अनुसार तलब दिएको प्रमाण जुटाउन सकेन। र दाबी गरे अनुसारका कुनै पनि प्रमाण पनि जुटाउन नसकेपछि २०७४ सालको माघ २९ गते श्रममन्त्री फरमुल्हा मन्सुरले पीडितकै पक्षमा निर्णय गरिदिए । श्रम सम्झौता अनुसार तलब कम्पनीले दिनु पर्ने तलव दिलाउन नसकेको गल्फ लिंक ओभरसिजले मन्सुरलाई तलब दियो।

श्रम मन्त्रीको निर्णय पछि कतारमा नपाएको तलव हसनैनले नेपालमा पाए । कतारमा फलामको काम गरेर आएका हसनैनले पाउन बाँकी ३ लाख ४० हजार ८ सय २१ रुपैयाँ तलब नेपाल आएपछि लिए। अहिले हसनैन तलब नपाएको देश कतार छाडेर युएई पुगेका छन्।

असार ३२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्