विश्व विजेता टोलीलाई देशकै उच्च सम्मान

विश्व विजेता फ्रान्सेली टोलीको भव्य स्वागत : पोग्बाले गीत गाए, राष्ट्रपति नाचे

विश्व विजेता बनेर घर फर्किएको फ्रान्सेली टोलीको भव्य स्वागत भएको छ । रुसको मस्कोमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–२ ले हराएर २० वर्षपछि फेरि विश्व विजेता बनेको फ्रान्सेली टोली सोमबार स्वदेश फर्किएको हो ।

विश्वकपको उपाधि जितेर आएको टोलीलाई पेरिसमा पाँच लाख भन्दा धेरै मानिसले स्वागत गरे । पेरिसमा विश्व विजेता टोलीलाई स्वागत गर्न जम्मा भएको लाखौँ मानिसले परेड गरे । फ्रान्सेली टोलीलाई पेरिसको चार्ल्स डी गाउली विमानस्थलमा स्वागत गरे ।

त्यसपछि पेरिसमा टोलीलाई घुमाइएको हो । टोलीलाई फ्रान्सले देशकै सबैभन्दा उच्च स्तरको सम्मान लिगिओन डी’अनर पनि दिइने छ । फ्रान्सेली समर्थकले रातभर फ्रान्सका विभिन्न शहरमा पार्टी गरेका छन् । त्यसक्रममा अवस्था शान्त नहुँदा प्रहरीले अश्रु ग्यास पनि चलाउनु परेको थियो ।

सन् १९९८ मा आयोजक फ्रान्सले ब्राजिललाई हराएर पहिलो पटक विश्वकप उपाधि जितेको थियो । त्यो बेला पनि यस्तै सेलिब्रेसन भएको थियो । त्यो बेला टिमको कप्तान रहेका डिडिएर डेसच्याम्पस यो पटक प्रशिक्षक छन् ।

४९ वर्षका उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप उचाल्ने तेस्रो व्यक्ति हुनन् । ब्राजिलका मारिओ जागालो र जर्मनीका फ्रान्ज बेकेनबाउनले यसअघि नै यो उपलब्धी हाँसिल गरेका थिए । उनीहरुलाई स्वागत गर्न राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पुगेका थिए ।

 

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू