ट्रम्पले गरे रुसको बचाउ, एफबिआइ र सिआइए भन्दा पुटिनको कुरामा विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको बचाउ गरेका छन् । रुसमाथि सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा दखल दिएको आरोप लागेको छ । तर राष्ट्रपति ट्रम्पले भने रुसले चुनावमा कुनै किसिमको दखल नदिएको बताएका हुन् ।

चुनावमा रुसी दखलका बारेमा अमेरिकाको संघीय जाँच आयोज, एफबिआई र गुप्तचर निकाय सिआइएले अनुसन्धान गरेका छन् । तर रुस राष्ट्रपति भ्लादिमिर पुटिनसँग फिनल्याण्डको राजधानी हेलसिन्कीमा भएको वार्तापछि ट्रम्पले रुसको बचाउ गरेका हुन् ।

पुटिनसँगको प्रत्यक्ष भेटवार्तापछि ट्रम्पले राष्ट्रपति चुनावमा रुसले दखल दिएको भन्ने एफबिआई र सिआइएको ठहरको खण्डन गरे । रुसले चुनावमा दखल दिनु पर्ने कुनै कारण नै नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ ।

यस्तै रुसी राष्ट्रपति पुटिनले अमेरिकी चुनावमा मात्रै नभएर उसका कुनै पनि विषयमा आफूहरुले दखल नदिएका बताए । ट्रम्प र पुटिनबिच सोमबार हेलसिन्कीमा झण्डै दुई घण्टा वान–टू–वान वार्ता भएको थियो ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग चुनावमा भएको हस्तक्षेपका बारेमा उनी आफ्नो देशको गुप्तचर निकायको विश्वास गर्छन् कि रुसी राष्ट्रपतिको भनाईमा भनेर सोधिएको थियो ।

त्यसको जवाफमा ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले भन्नुभएको छ कि रुसले हस्तक्षेप गरेको छैन, मैले पनि हस्तक्षेप गर्नुको कुनै कारण देखेको छैन ।’

एफबिआई र सिआइएले राष्ट्रपति चुनावमा रुसले हिलारी क्लिन्टन विरुद्ध माहोल बनाउन काम गरेको र यसका लागि सामाजिक सञ्जालमा गलत समाचार फैलाइएको तथा त्यसका लागि सरकारी स्वीकृति नै लिइएको निष्कर्ष निकालेका थिए ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्