डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबिच वार्ता हुँदै

काठमाडौँ – जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबिच शिक्षा मन्त्रालयमा वार्ता भइरहेको छ । सरकारले गठन गरेको टोली र डा. केसी पक्षबिच सोमबार राति भएको वार्तामा कुनै सहमति नजुटेपछि मंगलबार बिहान दोस्रो वार्ता सुरु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो र राति नै वार्ता सुरु भएको थियो ।

सोमबारको वार्तामा केसी पक्षधरले चिकित्सा शिक्षा विधेयक फिर्ता गरेमा मात्रै डा. केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने अडान लिएपछि सहमति जुट्न सकेको थिएन ।

वार्तामा सरकारी पक्षले विधेयक फिर्ता लिने विषयमा शिक्षा मन्त्रीसँग छलफल गरेर दोस्रो चरणको वार्तामा बस्ने बताएपछि अहिले दोस्रो वार्ता भइरहेको हो ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्