एक वैज्ञानिकको पीडा

‘…अनि मैले नेपालमा आफ्‍नै हातले माइक्रो कम्प्युटर बनाएँ’

‘…अनि मैले नेपालमा आफ्‍नै हातले माइक्रो कम्प्युटर बनाएँ’

२१औ शताब्दी विज्ञान, प्रविधि र सञ्‍चारको युग हो। यही प्रविधिलाई पछ्‍याएर विश्‍वका धेरै देशले आर्थिक समृद्धिसँग-सँगै आफ्नो जीवन शैलीलाई नै सरल र सहज बनाइरहेका छन्। विज्ञान प्रविधिलाई नेतृत्व गरिरहेका देशहरुले आफूलाई अब्‍बल दर्जामा ल्‍याइसकेका छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रविधिमा ख्‍याति कमाएका तर नेपाल र नेपालीले नचिनेका नेपालको पहिलो कम्‍प्युटर वैज्ञानिक हुन् मुनिबहादुर शाक्‍य।

आइबिएम कम्पनीभन्दा दुई वर्ष पहिले माइक्रो कम्प्युटर नेपालबाटै बनाउन सफल कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्‍यले अहिलेसम्‍म माइक्रो कम्प्युटर, सुपर कम्प्युटर, देवनागरी कम्प्युटर र अहिले ग्रिन कम्प्युटरको प्रयोग गरिसकेका छन्। उनका अन्‍य आविष्कारहरु वर्तमान र भावी  पुस्ताका लागि जीवन उपयोगी हुँदाहुँदै पनि प्रयोगमा नआउँदाको वैज्ञानिक अन्वेषणलाई प्रोत्साहित गर्न सरकारी नीति र संस्कार बनिनसकेको स्पष्ट हुन्छ। उनका सृजनाहरु उनकै दिमाग र केही गोदाममा थन्किएर, मिल्‍किएर बसेका छन्।

विज्ञापन

नेपालका पहिलो कम्प्युटर वैज्ञानिक शाक्‍यले सन् १९७९मा माइक्रो कम्प्युटर, सन् १९८३ मा देवनागरिक कम्प्युटर, सन् २००६ मा सुपर कम्प्युटर र हाल मात्र ३५ वाट भन्दा पनि कममा चल्‍ने ग्रिन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका छन्।

शाक्‍य करोडौं मूल्‍य पर्ने कम्प्युटर निर्माणका लागि चाहिने आवश्‍यक हरेक सामग्री नेपालबाटै अन्‍य देशमा निर्यात गर्न सकिने दाबी गर्छन्। त्यतिमात्रै होइन अबको न्‍यू टेक्नोलोजीहरुमा आधारित विभिन्‍न सेक्युरिटी उपकरणहरु, रोबोटहरु आजभन्दा तीन दशक पहिले नै निर्माण गरी प्राक्टिकल प्रदर्शन गरेता पनि त्‍यसको बृहत उत्पादन गर्न नसक्‍नुलाई आफ्नो र राष्ट्रको दुर्भाग्‍य मान्छन्।

उनै वैज्ञानिक मुनिबहादुर शाक्‍यका पीडालाई  ‘गोदाममै थन्किए वैज्ञानिकका सृजनाहरु ‘ श्रृङ्‌खलामार्फत ल्‍याउने प्रयास गरेका छौं।

कम्प्‍युटर र इलेक्ट्रोनिक्स फिल्डमा म उहिल्‍यैदेखि नै लागि परेको हुँ। मेरो एउटै उद्दश्‍य नेपालमा हाइ टेक्नोलोजी सबैकहाँ पुर्‍याउनु हो। यसलाई मेरुदण्डको आधार मान्‍दै प्रविधिमा मेहनत गरेर हाम्रो देशलाई अगाडि बढाउने अभियान लिएर म अगाडि बढेको छु। मेरो सानैदेखि विज्ञान प्रविधिमा धेरै रुचि थियो।

त्‍यसैले कतिपय सरले पढाउनु भएको कुराहरुलाई आफैले ‘प्राक्टिकल’ गरेर अनुभव गर्न चाहन्थेँ। सरले कक्षामा पानीको बारेमा पढाउनुहुँदा हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग भन्दा क्लासमा धेरैले बुझ्‍दैनथे।मलाई भने कसरी हुन्छ भनेर टेस्ट गर्न मन लाग्‍थ्‍यो र हाइड्रोजन दुई भाग र अक्सिजन एक भागको नमूना बनाएर सरलाई देखाउने।साथीहरु पनि छक्क पर्थे। पढ्‍नु भन्दा पनि मेरो जीवनमा विज्ञान प्रविधि बढी रुचि र व्यवहारिक बन्थ्‍यो बाल्‍यकालमा।

त्यतिबेला युवाहरुले सामू रेडियो नेपाल रिसिभ गर्ने सेट बनाउनु नै आफूलाई सफलता मान्थे। किनकि रेडियो नेपाल सुन्‍न पाउनु नै गौरव मानिन्थ्‍यो। मैले पनि बाल्‍यकालमै आफैले रेडियो नेपाल सुन्‍ने रेडियो रिसिभर बनाएँ। यसपछि इलेक्ट्रोनिक्समा मेरो लगाब बढ्‍दै गयो। नेपालमा इन्जिनियरिङ कलेज कही पनि थिएन। तर मेरो इन्जिनियरिङमा अध्‍ययन गर्ने ठूलो शोख थियो। त्‍यसकारण भारतको कलकत्तामा सन् १९६०मा रेडियो इन्जिनियरिङमा अध्‍ययन गर्न गएँ। त्‍यहाँ पढ्‍न बस्‍दा दिन भरी काम गरेर रेडियो तथा इलेक्ट्रोनिक्स टेक्नोलोजीमा पढ्‍न पाएँ।

पाँच वर्षसम्‍म धेरै दु:ख गरे मैले अध्‍ययन गर्दा।दिनभरी काम गर्नु पर्ने। काम पनि बाहिर थियो। ३० माइल जाने पर्ने रेलमा । दिनभरी काम काम गरेर क्लास पनि भ्‍याएर घर फर्किदा त रातिको साढे १२, १ बज्‍थ्यो।तर म कहिल्‍यै पनि विरामी परिनँ। किनकि ममा एउटा ठूलो प्‍यासन थियो की मैले केही गर्नुपर्छ, ‘डु समथिङ’। त्‍यसलाई मैले व्‍यक्तिगत रुपमा कुनै पनि तरिकाले हेरिन। किनकि नेपालमा मलाई विज्ञान प्रविधिमा केही नयाँ काम गर्नु थियो।

भारतमा संघर्ष गरेर नेपाल फर्किए।त्‍यहाँबाट फर्केर आउँदा रेडियो नेपालमा तीन जना ब्रिटिशहरुसँग रातदिन बसेर रेडियो नेपालको हाइ पावर ट्रान्समिटरहरु जडान गर्ने काममा रातिदिन गरेर आफूलाई सहभागि गराएँ, त्‍यतिबेला।

त्‍यतिबेला मैले सुरुदेखि अन्त्‍यसम्‍म ट्रान्समिटरका सबै कामममा नेतृत्व गर्दा मार्कोनी र बीबीसीका रेडियो इन्जिनियरिङका विशेषज्ञहरु आएका थिए। पछि त्‍यो ट्रान्समिटर टप टू बटम तयार भयो जुन अहिले सिंहदरवारभित्र स्टूडियो र खुमल्टारमा हाइ पावर एन्टेनासहितको उपकरणहरु जडान भइ हालसम्‍म पनि सक्रिय रुपमा काम गरिरहेको छ।

त्‍यसपछि सन् १९७०को सुरुमा चार्टर्ड इन्जिनियरिङ (सी. इन्जिनियरिङ) अध्‍ययनको लागि म ब्रिटीस सरकारको स्कलरसीपमा इंग्‍ल्‍याण्ड पढ्‍न गएँ। भारतमा मैले जे पढेको थिएँ, इंग्ल्‍याण्ड आउँदा केही कुराहरु अधुरै छ की भन्‍ने लाग्थ्यो। अधुरा कतिपय कुराहरुलाई पूरा गर्ने ठूलो मौका पाए मैले इंग्ल्‍याण्डमा।

विज्ञान प्रविधि सम्बन्धि मभित्र धेरै खुल्दुलीहरु भएकाले मलाई अध्‍यापन गराउने प्रोफेसरहरुलाई धेरै प्रश्‍नहरु गर्थे। जसबाट विज्ञान प्रविधिमा भएका नविनतम विकास र विस्तारका नयाँ नयाँ खोज बारेमा मलाई जानकारी लिने ठूलो अवसर प्राप्त भयो। मैले बारम्बार प्रश्‍नहरु गरिरहँदा अरुलाई अप्ठ्‍यारो पो भयो की भनेर प्रोफेरसरहरुलाई सोध्‍दा उहाँहरुको जवाफ हुन्थ्यो, ‘योर भ्‍यालिड क्वेश्‍चन्स हेप्स अन्डर्स्ट्याण्ड दि टेक्निकल आइडियाज, नट वन्ली फर योसेल्फ बट फर दि अल स्टुडेन्ट्स इन क्लास्।’

त्‍यहाँबाट अध्‍ययन गरेर म चार्टर इन्जिनियर भएँ। मभन्दा पहिला गएका र पछि आएकाहरु अध्‍ययन सकिएपछि आफ्नो देशलाई चटक्‍कै माया मारेर लोभ र लाभमा उतै ‘सेटल’ हुने गर्थे। तर मलाई भने त्‍यहाँ ‘सेटल’ हुन मन लागेन। इलेक्ट्रोनिक्स विषयमा ‘स्पेशलाइज्ड’ गरेर त्‍यहाँको सुख सुविधा छाडी आफ्नो देश नेपाल फर्किए।

मैले त्‍यति बेला प्रेसिसन पावर सप्लाइ बनाए, जुन कम्प्‍युटर निर्माणमा ठूलो महत्‍व राख्छ। अनि मैले ‘स्वायर वेभ, ‘ट्रंयाङगल वेभ र साइन वेभको सिग्‍नल जेनेरेटर बनाए। जसबाट इलेक्ट्रोनिक्समा कुनै पनि काम गर्दा यसको प्रयोग अनिवार्य हुन्छ।

त्यतिबेला आइबिएमले ठूल्ठुलो ‘मेनफ्रेम’ कम्प्‍युटर बनाउथ्यो। यसको मूल्‍य लाखौ-डलरको हुन्थ्यो। एप्पलले भर्खरे ‘डेस्कटप कम्प्‍युटर’ ल्‍याएको थियो। यता, नेपालमा भने मैले आफ्नै हातले सन् १९७९मा पहिलोटक माइक्रो कम्प्‍युटर बनाएँ। लगत्तै एउटा यूएन रिजनल कन्फेरेन्समा मैले बनाएको कम्प्प्युटरलाई प्रदर्शनीमा राख्‍ने मौका मिलेको थियो।

मैले बनाएको उक्त माइक्रो कम्प्‍युटरलाई यूएनले ‘यूएन कम्प्युटर’ भनेर त्यतिबेला नामाकरण गरिदियो।त्यसको केही दिनपछि चिनियाँ राजदूतावासबाट केही प्रतिनिधहरु माइक्रो कम्प्युटर हेर्न आए। उनीहरु त्‍यो देखेपछि छक्क परे। फोटोहरु लिए र पछि उनीहरुले सिन्ह्वा न्‍यूजमा छापेर पठाइ दिए। त्‍यो मेरो माइक्रो कम्प्युटरको समाचार ८८ मुलुकमा प्रकाशित भएको रहेछ।

यस्तै आफ्‍नै देशका पत्रपिकाले पनि मैले बनाएको माइक्रो कम्प्युटरको समाचार छापे। त्‍यतिबेला गोरखा पत्र दैनिक, राइजिङ नेपाल, मदरल्‍याण्ड आदि पत्रिकाहरुमा फ्रन्टपेजमा कभरेज भएको थियो। कसैले सम्पादकीय पनि यही विषयमा लेखेका थिए भने त्यतिबेलाको एक मात्र रेडियो नेपालमा आउने कार्यक्रम विज्ञान प्रविधि कार्यक्रममा मेरो अन्तरवार्ता आयो। उक्त अन्तरवार्ता सुनेर तत्कालीन योजना आयोगका प्रमुख रत्‍नशमशेर जबराले फोनमा मलाई त्रिभुवन विश्‍वविद्यालयका सम्पूर्ण प्रोफेसरहरुलाई देखाउन आग्रह गर्नुभयो।

मैले हुन्छ भनेँ। दुई दिनपछि थापाथली रहेको जनसंख्‍या विभागमा सबैको सामू डेमो देखाउने तयारी भयो। देखाउनु पहिले मलाई सिंहदरबार बोलावट भयो म त्‍यहाँ गएर माइक्रो कम्प्युरटबारे बेलिबिस्तार लगाए र केही दिनपछि थापाथलीमा रहेको जनसंख्‍या विभागमा उपस्थित त्रिविका समस्त इन्टेलेक्चुअल प्रोफेसर, डिनलाई ‘र्‍याण्डम नम्बर जेनेरेशन’ सम्बन्धि डेमो देखाए।जसमा हजारौ ‘र्‍याण्डम नम्बरहरु’ एकपछि अर्को गरी लहरै सफलतापूर्वक स्क्रिनमा डिसप्ले भयो। सबै जना यो देखेपछि अचम्‍मित भएँ।

मैले माइक्रो कम्प्युटरमा आफैले प्रोग्रामिङहरु गरें र एउटा रोचक ग्रेगोरियन (रोमन) क्‍यालेन्डर बनाए जुन २५ हजार वर्षसम्‍मको मिति, बार थियो। त्‍यसमा वर्ष मात्रै टाइप गरे सबै बार, मिति देखाउँथ्यो।त्‍यतिबेला म धेरै नै खुशी भएको थिएँ। त्यसपछि म फेरि सन् १९७८ मा फ्रान्स सरकारको छात्रवृतिमा कम्युनिकेशन इन्जिनियरिङ सम्बन्धि अध्‍ययन गर्न रबाना भएँ। त्‍यहाँ मैले (१९७८- १९७९)सम्‍म माइक्रो कम्प्युटरको विशेष अध्‍ययन गरें। यसपछि मलाई अब माइक्रो कम्प्युटर नेपालमै बनाउन सक्छु भनेर आत्मविश्‍वास भयो। अनि म आफ्नै नेपाली भाषाको कम्‍प्युटर देवनारिक कम्प्‍युटर बनाउने तयारीमा जुट्न थाले।

क्रमश..

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्