फ्रान्सलाई विश्वकप जिताएको जुँगा

‘खेल सुरु हुनुअघि एन्टोनी ग्रिजम्यानले मेरो जुँगा मिलाउँथे, उनले मात्रै होइन प्रशिक्षकले पनि, यसैले टिममा लक ल्याएको विश्वास थियो’ विश्व विजेता फ्रान्सका डिफेन्डर अदिल रामीले भने ।

आफ्नो जुँगा देखाउँदै उनले अघि भने, ‘यो फ्रान्समा अहिले सबैभन्दा चर्चित जुँगा बनेको छ, यसलाई काट्दिनँ ।’

रामीले रुसमा विश्वकप सुरु हुनुअघि जुँगा पाल्न सुरु गरेका हुन् । समूह चरणको खेल हुनुअघि एन्टोनी ग्रिजम्यानले रामीको जुँगा मिलाएर सुरु गरे । त्यसपछि यो फ्रान्सेली टिमको संस्कार नै बन्यो, किनकी रामीको जुँगा मिलाएर मैदान छिरेका खेलमा फ्रान्स विजयी हुँदै गयो ।

सुरुमा ग्रिजम्यानले रामीको जुँगा मिलाउने संस्कार सुरु गरे, त्यसलाई टिमका अरु खेलाडीले पनि पछ्याए । टिमले जित्दै गयो, उसले फाइनल पनि जित्यो । फ्रान्सेली टिममा यो विश्वास बलियो भयो कि रामीको जुँगा ‘लक्की’ साबित भयो ।

यस्तो विश्वास फ्रान्सले २० वर्षअघि पहिलोपटक विश्वकपको उपाधि जित्दा पनि थियो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

त्यसबेला खेलअघि डिफेन्डर लरेन्ट ब्लान्कले गोलरक्षक फाकिएन बार्थेजको मुण्डन गरिएको टाउकोमा चुम्बन गरेका थिए, त्यो बेला फ्रान्सेली टिमको संस्कार नै बनेको थियो । अहिले जुँगा मिलाउने जस्तै ।

टिममा लक ल्याउने जुँगाका धनी रामीले विश्वकप जितेसँगै अन्तर्राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षका रामीले राष्ट्रिय टिमबाट ३५ खेल खेलेका छन् ।

टिममा परे पनि रामीले रुस विश्वकपमा एक मिनेट पनि खेल्न पाएनन् । उनले खेल्न नपाए पनि जुँगाले काम ग¥यो, टिमलाई जित दिलायो, यो विश्वास फ्रान्सेली टिममा छ ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्