बर–पिपलका रुख काट्न नरोकिएपछि उच्च अदालतमा रिट

पोखरा – सडक बिस्तारको क्रममा बर र पिपिलका रुख काटिनेक्रम नरोकिएपछि पोखराका राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले उच्च अदालतमा रिट दायर गरेको छ । समितिका अध्यक्ष रामबहादुर पौडेललेले उच्च अदालत पोखरामा निषेधाज्ञा परमादेश रिट दायर गरेका हुन् ।

धार्मिक एवं वैज्ञानिक रुपमा समेत उत्तिकै महत्पूर्ण मानिने बर–पिपल, समी, राजवृक्ष र आँपका रुख धमाधम काटिनेक्रम नरोकिएपछि आफूले अदालतमा रिट दायर गरेको उनले बताए ।

रिटमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन, पोखरा उपत्यका नगर विकास समिति, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, पोखरा ४, ५, ६, ७, ८, ११, १३, १८ को वडा कार्यालय र सम्बन्धित वडा अध्यक्ष गरी २२ जनालाई विपक्षी बनाइएको छ ।

‘अन्तरिम आदेश सहितको निषेधाज्ञा, परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ’ भनी दायर रिटको मंगलबार बहस, सुनुवाइ र अन्तरिम आदेश हुने बताइएको छ ।

नागरिक समाज पोखराका निवर्तमान संयोजक समेत रहेका पौडेलले नगरको सुन्दरता कायम गर्दै ऐतिहासिक तथा प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्ने जिम्मेवार निकाय नै विकासको नाममा महत्वपूर्ण सम्पदाको विनासमा उत्रनु दुःखद भएको बताए ।

साउन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्