इंग्ल्याण्डले जित्यो शृङ्खला, भारतको कीर्तिमानी यात्रामा लाग्यो ‘ब्रेक’

इंग्ल्याण्डसँगको एक दिवसीय क्रिकेट शृङ्खलामा भारत पराजित भएको छ । पहिलो खेलमा शानदार जित निकालेको भारत त्यसपछिका दुई खेलमा लगातार पराजित हुँदै तीन खेलको शृङ्खलामा २–१ को हार बेहोरेको हो ।
लिड्सको हेडिङ्गली मैदानमा मंगलबार राति भएको तेस्रो एक दिवसीयमा इंग्ल्याण्डले भारतलार्य ८ विकेटले हराएको हो । भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि जोए रुटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए । यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए ।
यस्तै जेम्स विन्सले २७ तथा जोनी बाइर्स्टोवले ३० रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको भारतले ८ विकेटको क्षतिमा २५६ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ७२ बलमा ८ चौकाको सहयोगमा ७१, महेन्द्रसिंह धोनीले ६६ बलमा ४२ तथा शिखर धवनले ४९ बलमा ४४ रन बनाए ।
इंग्ल्याण्डका डेविड विली र अदिल रशिदले समान तीन/तीन विकेट लिए ।
यो हारसँगै भारतको कीर्तिमानी यात्रामा ‘ब्रेक’ लागेको छ । भारतीय टिमले अहिलेसम्म लगातार ९ वटा बाइल्याट्रल सिरिज जितेको थियो । तर यो सिरिजमा हारेसँगै उसको जितको यात्रा भंग भएको छ ।