रुसले दखल दिएन, रुसले दखल दियो

ट्रम्पले एक दिनमै बोली फेरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली एक दिनमै फेरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि रुसले अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा हस्तक्षेप वा दखल नदिएको बताएका पुटिनले त्यसको एक दिनपछि बोली फेरेका हुन् ।

सोमबार फिनल्याण्डको राजधानी हेलसिन्कीमा पुटिनसँग भएको झण्डै दुई घण्टाको वान–टू–वान वार्तापछि ट्रम्पले आफ्नै देशको संघीय जाँच आयोग, एफबिआई र गुप्तचर निकाय सिआइएले भने अनुसार रुसले चुनावमा दखल नदिएका बताएका थिए ।

तर ट्रम्पले मंगलबार आफ्नो देशको गुप्तचर निकायमाथि पूर्णै विश्वास गरेको बताएका छन् । गुप्तचर निकायले सन् २०१६ को चुनावमा रुसले दखल दिएको भन्दै निकालेको निष्कर्ष आफूले स्वीकार गरेको ट्रम्पको भनाई छ ।

पुटिनसँगको प्रत्यक्ष भेटवार्तापछि ट्रम्पले राष्ट्रपति चुनावमा रुसले दखल दिएको भन्ने एफबिआई र सिआइएको ठहरको खण्डन गरे । रुसले चुनावमा दखल दिनु पर्ने कुनै कारण नै नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई थियो ।

ट्रम्पले के भनेका थिए ?


ट्रम्प र पुटिन भेटपछि हेलसिन्कीमा भएको पत्रकार सम्मेलनमा एक पत्रकारले चुनावीमा रुसी दखलका बारेमा सोधेको प्रश्नको जवाफपछि विवाद सुरु भएको थियो । ह्वाइट हाउसले जारी गरेको पत्रकार सम्मेलनको विवरणमा पनि यो कुरा समावेश गरिएको छ ।

पत्रकार : राष्ट्रपति पुटिनले २०१६ को राष्ट्रपति चुनावमा हस्तक्षेपको आरोप अस्वीकार गरेका छन्, तर अमेरिकाको गुप्तचर निकायले भने हस्तक्षेप भएको थियो भनेको छ । मेरो प्रश्न यो हो कि तपाईँलाई के लाग्छ ?

ट्रम्प : हाम्रा मानिसहरु मसँग आए, उनीहरुले भने कि रुसको हात छ चुनावी दखलमा । मेरो साथमा राष्ट्रपति पुटिन छन्, उहाँले भर्खरै भन्नुभयो कि रुसले यस्तो गरेको छैन । मलाई लाग्छ कि रुसले यस्तो किन गर्‍यो होला र, म हस्तक्षेप गर्नुको कुनै कारण देख्दिन ।

अहिले के भने ?


त्यो पत्रकार सम्मेलनको लिखित विवरण पढेपछि आफूले सफाइ दिनु पर्ने लागेको ट्रम्पले बताएका छन् । उनले अहिले भनेका छन् कि–एक वाक्यमा ‘किन गरेन होला’ को ठाउँमा ‘किन गर्‍यो होला’ झुक्किएर भनिएछ ।

आफ्नो देशको गुप्तचर निकायको निष्कर्षप्रति विश्वास रहेको उनले बताएका छन् । रुसले दखल दिएको तर त्यसको असर चुनावमा नपरेको बताएका छन् ।

एफबिआई र सिआइएले राष्ट्रपति चुनावमा रुसले हिलारी क्लिन्टन विरुद्ध माहोल बनाउन काम गरेको र यसका लागि सामाजिक सञ्जालमा गलत समाचार फैलाइएको तथा त्यसका लागि सरकारी स्वीकृति नै लिइएको निष्कर्ष निकालेका थिए ।

ट्रम्पको भनाईले अमेरिका कमजोर भएको सन्देश रुसलाई गएको वरिष्ठ रिपब्लिकन सिनेटर तथा सिनेटको आर्म्ड सर्विसेज कमिटिका सदस्य लिन्डसे ग्राहमले बताएका छन् ।

साउन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्