डबल डेट !

प्रियंका र निक थाम्दै हात साथसाथै, निकका दाइहरु पनि सँगै

बलिउडपछि हलिउडमा आफ्नो स्थान बनाएकी प्रियंका चोपडा ३६ वर्ष भएकी छन् । उनले बुधबार आफ्नो जन्मदिन मनाउँदै छिन् । सन् १९८२ को जुलाई १८ मा जन्मेकी प्रियंका अहिले हलिउडमा आफ्नो कामले चर्चामा छिन् ।

त्यससँगै उनी प्रेम सम्बन्धका कारण पनि थप चर्चामा आएकी छन् । प्रियंका अहिले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनससँगको प्रेम सम्बन्धमा छिन् ।

प्रियंका र निक सँगै धेरै ठाउँमा देखिएका छन् । यहाँसम्मकी निक प्रियंकाकी आमा मधु र परिवारका अरु सदस्यलाई भेट्नका लागि हालै भारत पनि आएका थिए ।

प्रियंका–निकले कहिले साइक्लिङ्ग गरेको त कहिले रेस्टुरेन्टमा गएका तस्बिरहरु सार्वजनिक हुने गरेका छन् । उनीहरुले कतिपय अवसरमा त म्याचिङ्ग ड्रेस पनि लगाउने गरेका छन् ।

पछिल्लो पटक प्रियंका र निक लण्डनको एक रेस्टुरेन्टमा सँगै देखिएका छन् । प्रियंकाको जन्मदिनको पेरिफेरी पारेर उनीहरु जुलाई १६ मा लण्डनको मेफेयरमा रहेको थर्टिफोर रेस्टुरेन्ट पुगेका हुन् ।

उनीहरुले सोमबार बेलुका त्यहाँ रमाइलो समय बिताएको पिपुलले जनाएको छ । अझ गज्जबको कुरो त त्यहाँ प्रियंका र निक मात्रै थिएनन्, साथमा थिए निकका दाइ जो जोनस र उनकी फियोन्सी सोफी टर्नर ।

अर्थात लण्डनमा जोनस दाजुभाइले संयुक्त रुपमा डेट गरेका छन् । यसलाई मिडियाले ‘डबल डेट’को रुपमा चर्चा गरेका छन् । त्यहाँ निक र जो मात्रै थिएनन्, साथमा थिए उनीहरुका जेठो दाई केविन जोनस । यसको अर्थ प्रियंकाले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा निकका दाइहरुसँगै पारिवारिक समय बिताइन्।

निकले गहिरो रातो रंगको पाइन्ट र त्यसमा म्याच गर्ने सेतो चेक भएको सर्ट लगाएका थिए भने प्रियंकाले ग्रे एण्ड ह्वाइट स्ट्रिप्ड ड्रेस लगाएकी थिइन्। उनले त्यसमै म्याच हुने ब्याग बोकेकी थिइन् भने स्याण्डल पनि सेतो थियो । निक र प्रियंकाले एकअर्काको हात थामेका थिए ।

प्रियंकाले निकको परिवारलाई भेटेको यो पहिलो पटक भने होइन । यसअघि तीन पटक उनले निकका दाइहरुलाई भेटेकी छन्। गएको मे मा निक र प्रियंकाको प्रेम सम्बन्ध सर्वाजनिक रुपमा बाहिर आएको हो ।

अहिलेसम्म उनीहरु धेरै पटक साथमा देखिएका छन्। चाहे त्यो न्यूयोर्कको डिनर होस् वा लस एन्जलसको ‘लाइभ शो’, निक र प्रियंका साथसाथै देखिने गरेका छन्।

केही दिनअघि प्रियंकाले इटी न्युजसँग आफू विवाहको पक्षमा रहेको पनि बताएकी थिइन्। प्रियंकाले आफू विवाहमा विश्‍वास गर्ने खालको मानिस रहेको बताएकी थिइन्। यसको अर्थ प्रियंका र निकले विवाहको बारेमा पनि सोचेको हुन सक्ने आँकलन गरिएको छ।

साउन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्