ट्रम्पले दिए पुटिनलाई अमेरिका भ्रमणको निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रवक्ता सारा सान्डर्सका अनुसार ट्रम्पले पुटिलाई आउँदो शरद ऋतुमा अमेरिका भ्रमण गर्न निम्तो दिएका हुन् ।
भ्रमणको सम्भावित समय तथा तयारीका बारेमा छलफल सुरु भइसकेको उनले ट्वीट गरेर जानकारी दिएकी छन् । यसअघि अमेरिकी नागरिकलाई प्रश्न गर्न रुसले पाउनु पर्ने सम्बन्धी पुटिनको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए ।
फिनल्याण्डको राजधानी हेलसिन्कीमा गएको सोमबार भएको भेटको क्रममा पुटिनले यस्तो प्रस्ताव गरेका हुन् । दुई नेताबिच त्यहाँ भएको छलफलका केही जानकारी बल्ल बाहिर आउन थालेका छन् ।
अमेरिकाको तर्फबाट यस्ता केही कुरा आए पनि रुसले भने केही बताएको छैन । ट्रम्पसँग हुने दोस्रो वार्ता वा अमेरिका भ्रमणका बारेमा रुसीले केही बताएको छैन ।
The Summit with Russia was a great success, except with the real enemy of the people, the Fake News Media. I look forward to our second meeting so that we can start implementing some of the many things discussed, including stopping terrorism, security for Israel, nuclear……..
— Donald J. Trump (@realDonaldTrump) July 19, 2018
हेलसिन्कीमा भएको भेटपछि ट्रम्प विवादमा तानिएका थिए । उनले पुटिनसँगको भेटपछि सन् २०१६ को चुनावमा रुसले हस्ताक्षेप गर्नुको कारण नै नरहेको भन्दै संघीय जाँच आयोग, एफबिआई र गुप्तचर निकाय सिआइएको निष्कर्ष अस्वीकार गरेका थिए ।
तर ट्रम्पले त्यसको भोलिपल्ट आफ्नो बोली फेरेका थिए र भनेका थिए कि रुसले चुनावमा हस्तक्षेप गरेको थियो, त्यसले प्रभाव भने पारेको थिएन ।
यहि विवादका बिच ट्रम्पले पुटिनलाई भ्रमणको निम्तो दिएको र तयारी पनि सुरु भएको खबर बाहिर आएको हो ।