झडपमा घाइते तरुण दल अध्यक्ष बस्नेतले भने, सरकारले अधिनायकवाद लाद्न खोज्दै छ

सिभिल अस्पतालमा उपचार गराइरहेका तरुण दल अध्यक्ष जितजंग बस्नेत। तस्बिर: शरद ओझा

काठमाडौँ- डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका तरुण दलका कार्यकर्ताहरुमाथि प्रहरीले दमन गरेको आरोप झडपमा घाइते भएका तरुण दलका अध्यक्ष जितजंग बस्नेतले लगाएका छन्।

प्रहरीको आक्रमणबाट टाउकोमा चोट लागेका बस्नेतले देशसञ्चारसँग कुरा गर्दै सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम बल प्रयोग गरेको बताए। झडपमा घाइते भएलगत्तै सिभिल अस्पताल पुर्‍याइएका बस्नेतले भने, ‘सरकारले हाम्रो आन्दोलनमा चरम बल प्रयोग गरेको छ। हाम्रो शान्तिपूर्ण आन्दोलन थियो। मनलागि गरिरहेको सरकारले कानुनबिरुद्ध केही गरे हामी खबरदारी गरिरहनेछौँ।’

टाउकोमा चार टाँका लगाइएका बस्नेत सिभिल अस्पतालमा आराम गरिरहेका छन्।

बस्नेतले भने, ‘सरकार संविधान र कानुनवमोजिम हिँड्नुपर्छ।’

उनले ओली सरकारले अधिनायकवादको अभ्यास गरेको उल्लेख गर्दै  शान्तिपूर्ण आन्दोलन गर्न पाउनु संविधानप्रदत्त अधिकार रहेको समेत बताए। ‘शान्तिपूर्ण अधिकार गर्न पाउने अधिकारमाथि सरकारले दमन गर्दैछ। अधिनायकवाद लाददैछ। हामी यसको प्रतिकार गरिरहनेछौँ,’ उनले भने।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्