के हो बानेश्‍वर झडपको कारण ?

के हो बानेश्‍वर झडपको कारण ?

प्रदर्शनकारीलाई रोक्दै सुरक्षाकर्मी। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौं – चर्को धूपबीच शनिबार डा.  गोविन्द केसीको अनशनको २२ औं दिन उनको मागको पक्षमा दबाब दिन ठूलो संख्यामा समर्थक माइतीघरमा भेला भए।

पसिना चुहाउँदै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, खगेन्द्र संर्गौलालगायत चिकित्सक, विद्यार्थी र साझा विवेकशीलका नेता तथा कार्यकर्ता बानेश्वरतर्फ लम्कदै थिएँ, छेउ हुँदै।

र्‍याली बिजुलीबजारको नेपाल टेलिकम नजिक पुग्न मात्र के पाएको थियो, विपरित दिशाबाट बानेश्वर हुँदै नेपाली कांग्रेसका भातृ संगठन तरुण दलका युवाहरु नारा लगाउँदै सडकबीचबाटै अगाडि बढ्न थाले।

प्रहरीलाई अवज्ञा गर्दै सडकबीचबाट प्रदर्शनकारी हिँड्न थालेपछि टाफिक अवरुद्ध मात्रै भएन, एकैछिनपछि तनाव उत्पन्न भयो। सडक अवज्ञापूर्ण प्रदर्शनस्थलबाट युद्धभूमिमा परिणत भयो ।

झडपका क्रममा घाइते भएकी प्रदर्शनकारीलाई अस्पताल लैजाँदै सहयोगीहरु। तस्बिर: बर्षा शाह

सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयलाई अन्तरिममा स्थगित गरेता पनि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरी सर्वोच्चको अन्तरिम आदेश विपरित गएको संकेत दिएपछि तरुण दल सदस्यहरु आक्रोशित देखिए।

निषेधित क्षेत्र तोड्ने क्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार हुन थालेपछि प्रहरीले लाठी र अश्रुग्यास वर्षाउन थाल्यो, जसमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायत करिब एक दर्जन प्रदर्शनकारी घाइते भए। प्रहरी इन्स्पेक्टरसहित केही सुरक्षाकर्मी पनि घटनामा घाइते भए।

यसरी भिडन्त भएको थियो सुरक्षाकर्मी र प्रदर्शनकारीबीच। तस्बिर: बर्षा शाह

बानेश्वरदेखि बिजुलीबजारबीचको सडक खण्डमा करिब आधा घण्टा भिडन्त जारी रहे पनि अन्तत: प्रहरीको तिव्र हस्तक्षेप र बल प्रयोगपछि प्रदर्शनकारी तितरवितर भए।

केसीको समर्थनसँगै सत्ताधारी नेकपाले उपसभामुखको पद संविधान अनुसार गैरसत्ताधारी पार्टीलाई छोड्नु पर्ने, मूल्य वृद्धि नियन्त्रण गर्नु पर्ने लगायतका माग सहित सडकमा उत्रिएको तरुण दल सडकबाट पन्छिएपनि डा‍‍ केसीको पक्षमा उत्रिएको अर्को समूहले भने नजिकै आफ्नो कार्यक्रमलाई निरन्तरता दिइरहर्‍याे। त्यसलाई निरन्तरता दिनेमा नेपाली कांग्रेसका सांसद गगन थापा पनि थिए।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्