डा. केसीको माग पूरा गर्न भनेरै विधेयक ल्यायौँ: गृहमन्त्री थापा

जनकपुरधाम- गृहमन्त्री रामबहादुर थापा बादलले डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँँग भेटघाटका क्रममा गृहमन्त्री थापाले डा.गोविन्द केसीको मागलाई लोकतान्त्रिक तरिकाले हल गर्ने सरकारको नीति रहेको बताए।

डा.केसीको मागलाई सम्बोधन गर्न सकरात्मक रुपमा सरकारले कदम अगाडि बढाएको भन्दै गृहमन्त्री थापाले चिकित्सा शिक्षा सम्बन्धी विधेयक समेत तयार पारिएको जनाएका छन्।

उनले भने ‘चिकित्सा सम्बन्धी विधेयक स्थगनको अवस्थामा थियो। तर डा.केसीको माग पुरा गर्न तयार गरिएको विधेयक अब सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।’

यस्तै, सरकारको विकास, शान्ति र समृद्धिको अभियानलाई रोकेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गर्ने षडयन्त्र भइरहेको बताउँदै गृहमन्त्री थापाले सरकार आफ्नो दिशामा दृढ भएर अघि बढीरहेको दावी समेत गरेका छन्।

साउन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्