एकसाथ खेलाडी र रेफ्री हुन नमिल्ने !

विश्वकपपछि नेइमार शोकमा

विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि आफू शोकमा गएको स्टार खेलाडी नेइमारले बताएका छन् । बेल्जियमसँग पराजित भएर ब्राजिल विश्वकपको अन्तिम ८ बाटै घर फर्किएको थियो ।

आफ्नो टिम बाहिरिएपछि बल हेर्न वा प्रतियोगिताका अरु खेल हेर्न मन नलागेको नेइमारले बताएका छन् । नेइमारको टिम ब्राजिलले राम्रो प्रदर्शन गरे पनि सेमिफाइनलमा पनि स्थान बनाउन सकेको थिएन ।

नेइमारले भने, ‘टिम बाहिरिएपछि म शोकमा थिएँ, निकै निराश र दुःखी पनि तर त्यो समय बितिसक्यो ।’

नेइमार अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीबाट लिग वानमा नयाँ सिजनको तयारीमा छन् । उनले भने, ‘मसँग छोरा छ, परिवार छ र साथीहरु छन्, उनीहरु म उदास भएको देख्न चाहँदैनन् ।’

यस्तै नेइमारले आफू रियल मड्रिड जान चाहेको वा रियल मड्रिडले प्रस्ताव गरेको भन्ने सबै हल्ला मात्रै रहेको पनि बताए ।

२६ वर्षका नेइमार गएको वर्ष विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । उनले गएको सिजन पिएसजीका लागि २८ गोल गरे । पिएसजीले घरेलु प्रतिस्पर्धामा तीन उपाधि जित्यो ।

विश्वकपमा नेइमारले राम्रो खेलेका थिए, उनले दुई गोल गरे भने एक गोलका लागि सहयोग गरे । तर उनको प्रशंसा भन्दा आलोचना धेरै भयो, उनीमाथि सानो ट्याकललाई पनि ठूलो देखाएर मैदानमा धेरै लडेको भन्दै आलोचना भयो ।

नेइमारले एएफपीसँग भनेका छन्, ‘मानिसहरु आलोचना गर्नमा छिटो छन्, फउल गर्नु र फउल हुनु फरक कुरा हो ।’ उनले आफू विश्वकपमा निशानामा पर्नका लागि नभई खेल्नका लागि गएको बताए।

ब्राजिलियन नेइमारले भने, ‘म विश्वकपमा खेल्न र विपक्षीलाई पराजित गर्नका लागि गएको थिएँ, किक खानका लागि होइन । अहिले भइरहेका आलोचना बढाइचढाइ गरिएका हुन् । तर म केटाकेटी होइन, मलाई यस्ता कुरासँग डिल गर्न सामान्यजस्तै लागिसक्यो ।’

नेइमारले अघि भने, ‘म खेलाडी र रेफ्री एकसाथ हुन सक्दिनँ, तर कहिले काहिँ हुन पाएको भए भन्ने लाग्दो रहेछ ।’

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्