शरीफलाई आम चुनावअघि जेल बाहिर आउन नदिने खेल

पाकिस्तानको गुप्तचर निकायमाथि न्यायाधीशको गम्भीर आरोप

पाकिस्तानका इस्लामावाद उच्च अदालतका वरिष्ठ न्यायाधीश शौकत अजीज सिद्दीकीले गुप्तचर निकाय आइएसआइको भावना अनुसारको फैसला दिएमा आफूलाई समय भन्दाअघि नै मुख्य न्यायाधीश बनाउने र आफू विरुद्ध दायर गरिएको मुद्दा पनि फिर्ता गर्ने प्रस्ताव भएको दाबी गरेका छन् ।

रावलपिण्डीमा शनिबार भएको बार एसोसिएशनको कार्यक्रममा न्यायाधीश शौकत सिद्दीकीले यस्तो आरोप लगाएका हुन् । आइएसआइले पाकिस्तानको न्याय व्यवस्थामा हस्तक्षेप गरिरहेको उनले दाबी गरेका छन् ।

आइएसआइका अधिकारीले आफूसँग भेटवार्ता गरेर आफ्नो इच्छा अनुसार फैसला दिएमा यो वर्षको सेप्टेम्बरमा इस्लामावाद उच्च अदालतको मुख्य न्यायाधीश बनाउने प्रलोभन देखाएको उनले बताए ।

न्यायाधीश सिद्दीकीका अनुसार आइएसआइका अधिकारले भनेका थिए, ‘हाम्रो इच्छा अनुसारको फैसला दिनुभयो भने हामी तपाईँलाई समय भन्दाअघि नै मुख्य न्यायाधीश बनाउने मात्रै होइन तपाईँ विरुद्द रहेका सबै आरोप अन्त्य गर्छौँ ।’ न्यायाधीश सिद्दीकीले आइएसआइका अधिकारसँग आफ्नो इमान बेच्नु भन्दा प्राण त्याग्न तयार रहेको जवाफ दिएको बताएका छन् ।

सिद्दीकी यो वर्षको नोभेम्बरमा मुख्य न्यायाधीश बन्ने छन् । उनी विरुद्ध केही समय पहिले सर्वोच्च अदालतको न्याय परिषदमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । त्यो बेला अघि नबढेको यो मुद्दामा जुलाईको अन्तिम हप्ता सुनुवाई हुँदैछ । यो बहसको विषय बन्ने अनुमान गरिएको छ ।

मुख्य न्यायाधीश मियां शाकिब निसार र सर्वोच्च अदालतका अरु पाँच न्यायाधीश विरुद्ध पनि मुद्दा दायर भएको छ । तर उनीहरु विरुद्धका मुद्दाको सुनुवाई मिति तय भएको छैन ।

आइएसआइका अधिकारीले इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अनवर काजीसँग सम्पर्क गरेर आफूलाई पूर्व प्रधानमन्त्री नवाज शरीफ विरुद्ध दायर अपिल मुद्दाको सुनुवाई गर्ने बेन्चमा सामेल नगर्न भनेको सिद्दीकीले आरोप लगाएका छन् ।

जुलाई २५ हुने चुनाव भन्दा अघि शरीफ र उनकी छोरी मरियम जेलबाट बाहिर नआउन् भन्नका लागि यस्तो गरिएको न्यायाधीश सिद्दीकीको दाबी छ ।

इस्लामावाद उच्च अलदालतका मुख्य न्यायाधीशले आइएसआइको माग स्वीकार गरेर बेन्च बनाएको र सुनुवाईको मिति २५ जुलाई भन्दा पछि अर्थात आम चुनावपछिको राखेको उनले आरोप लगाएका छन् । उनको यस्तो आरोपपछि हलमा रहेका वकिलहरुले नारा लगाएका थिए ।

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्