अटुट साथ

डा. केसीसँगै अनशन बसेको उनको यो टाटेपाटे ब्ल्यांकेट

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी १५ औँ पटक सत्याग्रहमा छन्। जुम्लाबाट सुरु भएको डा. केसीको यसपटकको अनशन आइतबार २३ औँ दिनमा पुगेको छ। यसअघिका सत्याग्रहमा उनी बढीमा २३ दिन अनशन बसेका थिए। तर योपटक अनशनका दिन लम्बिने संकेत देखिएको छ।

सरकारले डा. केसीका माग पूरा गर्नमा गम्भीरता नदेखाएको उनका समर्थकले बताउने गरेका छन् र सरकारको गतिविधिले पनि डा. केसीको जीवन रक्षाका लागि काम भएको जस्तो संकेत गर्दैन। आइतबार दिनभर पनि अनशन तोडाउन सरकार सफल नभए डा. केसीको यसपटकको अनशन सबैभन्दा लामो अवधिको हुनेछ।

यसअघि काठमाडौँमै अनशन बस्ने गरेका डा. केसी यसपटक भने विकट जुम्ला पुगे। अनशन सुरु गरेको ठाउँकै कारण पनि डा. केहीको यो सत्याग्रह चर्चाको केन्द्रमा छ।

यस्तै डा. केसीको मागप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले जनाएको समर्थन, प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दाहालले खाएको मार्सी चामलको भातको विषय, केसीको समर्थनमा नागरिक समाजले सडकमै उत्रेर गरेको विरोधप्रदर्शनदेखि जुम्ला र त्यसपछि राजधानीमा भएको झडपका घटना बढी चर्चामा आएका छन्।

योसँगै जुम्लामा घाइते मात्रै रहेका प्रहरी जवानलाई मृत भैसकेको भनेर प्रहरीले गरेको झुटो माइकिङ्ग र अस्पताल भित्रै चलेको गोलीको विषय पनि चर्चामा छ।

डा. केसीले अनशन बसेको ठाउँ फेरियो, उनको समर्थनमा भइरहेका आन्दोलनहरुले दिन दिन रुप फेरिरहेका छन्। यो सबै अभियानमा एउटा चिजले डा. केसीको साथ छाडेको छैन वा भनौँ डा. केसीले त्यसलाई छोडेका छैनन्।

डा. केसीले आफ्ना माग छोड्ने कुरा नै भएन। त्यो बाहेक उनले ब्ल्यांकेट वा ब्ल्यांकेटले उनलाई छोडेको छैन। जुम्लामा अनशन बस्दा डा. केसीले ओढेको ब्ल्यांकेट र त्रिवि शिक्षण अस्पतालमा उनले ओढेको ब्ल्यांकेट उही हो।

असार १६ गतेदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न हिँडेका डा.केसीलाई प्रहरीले रोक्यो। उनलाई जिल्ला खेलकुद विकास समितिको कर्भडहलमा राखियो। त्यहाँको चिसो भुईमा डा. केसीले रात बिताए, एउटा ब्ल्यांकेट ओढेर।

खैरो र सेतो रंग मिसिएको टाटेपाटे रंगको उक्त ब्ल्याङकेट डा. केसीले अहिलेसम्म छोडेका छैनन् अथवा भनौँ डा. केसीसँगै त्यो ब्ल्यांकेट पनि अनशन बसिरहेको छ।

जुम्लास्थित कभर्डहल, त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अहिले शिक्षण अस्पताल काठमाडौँमा अनशनतर डा. केसीले २३ दिनसम्म पनि उक्त ब्ल्यांकेट छोडेका छैनन्। जुम्लाको चिसो भुईँमा डा. केसीको साथी बनेको उक्त ब्ल्यांकेटले काठमाडौँको जाडोमा पनि डा. केसीलाई साथ दिइरहेको छ।

अनशनका बिच प्राप्त डा. केसीका तस्बिरहरु हेर्दा उनले आफ्नो शरीरमा लुगा फेरेका छन् तर ब्ल्यांकेट उही छ।

डा. केसीका समर्थकहरु दिन प्रतिदिन बढी रहेका छन्, सडकमा नारा लगाउनेहरुको पनि कमी छैन। तर यो अनशनमा एकतमासले साथ दिइरहेको छ टाटेपाटे ब्ल्यांकेटले । त्यसले डा. केसीलाई दिएको न्यानो र सडकमा नारा लगाउने समर्थकहरुको साथ डा. केसीलाई उत्तिकै प्यारो लागेको भनै पक्कै हुनुपर्छ।

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्