साउनको मेहन्दी र चुरा पहिलेको श्रद्धा, अहिलेको फेसन

जनकपुरधाम- साउन महिनालाई महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने एक प्रकारको उत्सवको रुपमा लिने गरेका छन् । साउन आउने वितिकै महिला तथा युवतीहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको देखिन्छ ।

पहिला पहिला श्रीमान्को दिर्घायुको कामनाको लागी साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने चलन थियो भने आजकल हरियो चुरा र मेहन्दी फेसन बनेको देख्न सकिन्छ ।

साउनमा हरियो चुरा नै लगाउनुका पछाडी वेग्लै कारण रहेको पण्डित विद्यानन्द झा बताउँछन् । उनले असारमा पानी परेपछि साउनमा जताततै वातावरण हरियो नै हुन्छ, जसले गर्दा घरका महिलाले हरियो चुरा लगाउनुलाई शुभ संकेतको रुपमा लिने गरेको बताए ।

विवाहित तथा अविवाहिताहरुले साउनमा हरियो चुरा र मेहन्दी लगाउनुका साथै भगवान शिवको अराधना गर्दैआए पनि आजभोलि हरियो चुरा श्रद्धा भन्दा बेसी फेसनको रुपमा लगाउने गरिएको छ ।

केही वर्ष यता साउनमा मेहन्दीसँगै हरियो चुरामा विभिन्न रंगका चुरा मिलाएर लगाउने गरिएको छ । विशेषगरी अहिले कलेजका छात्रा तथा युवतीहरुले हरियोसँगै पहेलो चुरा मिलाएर लगाउने गरेका छन् ।

जनकपुरका अधिंकाश स्थानमा रहेको स्कुल कलेजका होस्टेलमा बस्ने छात्राहरुले आफू बाहिर जाने स्वीकृति नपाउँदा होस्टेल रेखदेख गर्ने दिदीसँग चुरा र मेहन्दी मगाएर लगाएका छन् ।

केयर नर्सिगं कलेज जनकपुरमा स्टाफ नर्स गरि रहेकी विन्ती यादव र क्रिन्ता ठाकुरले आफुहरुले होस्टेलको दिदीसँग चुरा मगाएर लगाएको बताइन् ।

मेहन्दी र चुरा पसलमा भिड


साउन महिनालाई मात्र मेहन्दी र चुराको महिना नभनि श्रृगांरको महिना समेत भन्न सकिन्छ । यो श्रृंगारको मसान्तले गर्दा आजकल श्रृंगार पसलमा महिला तथा युवतीहरुको भीड लागेको देखिएको छ ।

खासगरी हरियो, पहेलो र रातो चुरा लिने युवतीहरु प्राय चुरासँग म्याच गर्ने गाजल, टिका सहित अन्य अन्य श्रृंगारका सामानहरु किन्न पसल पुग्ने गरेका छन् ।

जनकपुरको कस्मेटिक मार्केटमा पसल गर्दै आएकी रुपम कुमारी कर्णले साउन आएदेखि एकदिनमा मात्र ५५ दर्जन चुरा बेचेको बताइन् । मेहन्दी पनि त्यही अनुपातका बेचेको उनको भनाई छ ।

यता, करिब १८ वर्षदेखि जनकपुरमा चुरा पसल चलाउँदै आएकी नुतन देवी, चुरा मात्रै बेच्ने गरेको र साउन महिना चुराको लागी खास रहेको बताउँछिन् ।

अन्य समयमा विवाहितहरुले मात्र चुरा लिन्छन् र बढी विक्री भनेको विवाहको सिजनमा मात्र हुन्छ, तर विवाहपछी सबैभन्दा बढी चुराको बिक्री भने साउनमा मात्र हुने गरेको उनको भनाइ छ ।

यता, साउन आएसँगै जनकपुरको बजारमा अत्याधिक पसलहरुमा डिजाईनिंग हरियो चुराहरु सजाएर राखिएको देखिएको छ ।

डिजाईन गरिएको चुरा तथा लहठी विवाहित महिलाहरुलाई बढी मन पर्ने गरेको चुरा पसल गर्दै आएकी मिना साह बताउँछिन् । उनी भन्छिन्, ‘ डिजाईन गरिएको चुरा विवाहितहरुको रोजाई हो तर युवतीहरुले गर्दा साउनमा ‘प्लेन’ चुराको धेरै बिक्री हुन्छ ।’

मेहन्दी ‘मिथ’


साउनमा प्राय सबैको हातमा मेहन्दी लगाएको देखिन्छ । मेहन्दीलाई प्राय शुभकार्यहरुमा लगाउने परम्परा रहेको छ, तर साउनमा लगाईने मेहन्दीलाई धेरैले फेसनको रुपमा लिन थालेका छन् ।

मेहन्दीलाई मिथिला क्षेत्रमा पुरानो श्रृंगारको रुपमा लिने गरिएको छ । मिथिलाञ्चलमा मात्र नभई धेरै ठाउँमा गाजल संगै मेहन्दी धेरै पुरानो श्रृंगार रहेको विज्ञ तथा पण्डित नरेशकान्त झा बताउँछन् ।

मिथिलाञ्चलमा मेहन्दी वर्षको १२ महिनामा १२ वटा उदेश्यले लगाउने परम्परा रहेको उनको भनाई छ ।

बैशाखमा वर्षको शुभारम्भ हुने महिनाको लागी मेहन्दी लगाईन्छ भने जेष्ठमा ठुलो भाईको दीर्घायुको लागी मेहन्दी लगाउने परम्परा छ ।

यस्तै, असारमा धानरोप्नुका साथै हातमा मेहन्दी लगाउने चलन छ, भने साउनमा श्रीमान्को दीर्घायुको लागी मेहन्दी लगाइन्छ ।

भदौमा भाइको उत्तरोत्तर प्रगतीको लागी महिलाले हातमा मेहन्दी लगाउने परम्परा रहेको छ । यस्तै, आश्विनमा मेहन्दी लगाउनाले ‘आस’ ईच्छा पूरा हुने जनविश्वास रहि आएको छ ।

साउन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्