
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिने झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इँले विवादास्पद अभिव्यक्ति दिएको लामो समयपछि उक्त पार्टीको नेतृत्व मौन रहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख खोलेका छन्।
नेपालमा मेडिकल शिक्षा अध्ययन गर्न नपाएर बंगालदेश जान बाध्य भएका नेपाली महिला विद्यार्थीमाथि यौन शोषण भइरहेको अभिव्यक्ति दिएर विवादमा तानिएका थिए, प्रसाईँ।
उनको सर्वत्र आलोचना भएको लामो समयपछि पार्टी प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै प्रसाईँको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
श्रेष्ठले ट्वीट गरेका छन्, ‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ। यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु। साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुखद छ। सरकारको गम्भीर ध्यान जाओस्।’
ब्यबसायी दुर्गा प्रसाईंले बाँगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला बिद्यार्थीहरुका बारेमा गरेको सार्बजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ।यसको भर्त्सना गर्दै सार्बजनिक आत्मालोचनाको माग गर्दछु।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ।सरकारको गम्भीर ध्यान जाओस ।
— NKShresthaPrakash (@nksthaprakash) July 22, 2018
श्रेष्ठले प्रसाईँको अभिव्यक्तिलाई समर्थन गर्दै अभिव्यक्ति दिएपछि कानुमन्त्री शेरबहादुर तामाङप्रति पनि आपत्ति जनाएका हुन्।