ओजिलले गरे सन्यासको घोषणा

अब जर्मनीको जर्सी लगाउने इच्छा रहेन

आर्सनलका मिडफिल्डर मेसुट ओजिलले आफूमा अब जर्मनीको टिमबाट खेल्ने इच्छा नरहेको बताएका छन् ।

२९ वर्षका ओजिलले जारी गरेको लामो वक्तव्यमा जर्मन फुटबल एसोसिएशन, डिएफबीबाट आफूले पाएको व्यवहारका कारण अब राष्ट्रिय टिमबाट खेल्ने इच्छा मरेको बताएका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘अब जर्मन राष्ट्रिय टिमको जर्सी लगाउँ चाहँदिनँ ।’

जर्मनीले रुसमा भएको विश्वकप फुटबलमा गरेको खराब प्रदर्शनका लागि पनि आफूलाई दोषी ठह¥याइएको ओजिलले दाबी गरेका छ । रुस विश्वकपमा चार वर्षअघिको विश्व विजेता जर्मनी समूह चरणबाटै घर फर्किएको थियो ।

गएको मे मा लण्डनको एक कार्यक्रमको क्रममा ओजिलले टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानसँग तस्बिर खिचाएका थिए । त्यसपछि ओजिलको आलोचना सुरु भएको थियो । ओजिलसँगै जर्मनीका अर्का खेलाडी इल्केयी गुण्डोगानले पनि त्यो कार्यक्रममा भाग लिएका थिए ।

ओजिल र गुण्डोगान दुवै टर्किस वंशका हुन् । गुण्डोगान र आफूले टर्किस राष्ट्रपतिसँग फुटबलको बारेमा मात्रै गफगाफ गरेको ओजिलको भनाई छ । ओजिलसँग खिचेको तस्बिर टिर्कस राष्ट्रपतिको एके पार्टीले चुनावी अभियानका लागि प्रयोग गरेको थियो ।

त्यसपछि झन आलोचना सुरु भएको थियो । धेरै जर्मनम राजनीतिज्ञले ओजिल र गुण्डोगानको जर्मनको प्रजातान्त्रिक मूल्य मान्यताप्रतिको निष्ठामा प्रश्न गरेका थिए ।

टर्किस राष्ट्रपतिसँग आफूले आफ्ना पुर्खाको सम्मानका लागि मात्रै तस्बिर खिचाएको ओजिलले बताएका छन् । आफू र आफ्नो परिवारले घृणाले भरिएका इमेल, धम्कीपूर्ण टेलिफोन कल तथा सामाजिक सञ्जालमा त्यस्तै खालको कमेन्ट पाएको ओजिलले बताएका छन् ।

ओजिलले निकै भावनात्मक वक्तव्य मार्फत राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्