सान्चेज अमेरिका पुगेर खेल्न थाले, फेरि बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

नयाँ सिजनको तयारीमा रहेको म्यानचेस्टर युनाइटेड अहिले अमेरिका भ्रमणमा छ । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले आइतबार राति अमेरिकाको मेजर लिग सकर क्लब सान जोसे अर्थक्वेकसँग खेलेको छ ।

एलेक्स सान्चेजले खेलेको यो खेलमा म्यानचेस्टर युनाइटेडले जित भने निकाल्न सकेन । खेलमा दुवै तर्फबाट गोल हुन सकेन । भिसा पाउन समस्या भएका कारण सान्चेजले अमेरिका भ्रमण अन्तर्गत म्यानचेस्टर युनाइटेडको मेक्सिकन क्लब क्लब अमेरिकासँगको खेल गुमाएका थिए । पछि भिसा पाएर सान्चेज अमेरिका पुगेका हुन् ।

उनले सान्टा कार्लामा भएको खेलमा राम्रो प्रदर्शन गरे । एरिक बाइलीको प्रहार बारमा लागेर फर्कियो । अमेरिका भ्रमणमा सान्चेज पुगे पनि विश्वकपपछि बिदामा रहेको धेरै खेलाडी युनाइटेडको टिममा छैनन् । यसमा फ्रान्सका पउल पोग्बा, बेल्जियमका रामेलु लुकाकु र इंग्ल्याण्डका जेसी लिङ्गार्ड र मार्कस रासफोर्ड प्रमुख हुन् ।

सान्चेजले यो खेलमा ६४ औँ मिनेटसम्म खेले । युनाइटेडले यसअघि क्लब अमेरिकासँगको खेलमा १–१ को बराबरी खेलेको थियो । अब युनाइटेडले एसी मिलान, लिभरपुल र रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । एसी मिलान, लिभरपुल र रियल मड्रिडसँगको खेल वार्षिक रुपमा हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स कप प्रतिस्पर्धा अन्तर्गतका खेल हुन् ।

साउन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्